सूचनाको शक्ति - The Power Of Information

        

नेवारले मात्रै घर बेच्न र किन्न पाउने वडा

बनेपा । काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातीको धार्मिक र पुरातात्विक सम्पदा जोगाउन अन्य जातीलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ । मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो ।

‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरूलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ,’ वडाध्यक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ । वडा कार्यालयले नेवारी जातीको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ । यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातीलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए । त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार ०८:५२