सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका संक्रमित भन्छन्, ‘हामीमा कुनै लक्षण छैन, पुनः परीक्षण गरियोस्’

बाँके । नेपालगन्जमा सात र नौ वर्षका बालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । १९ गते संक्रमित देखिएका ६० वर्षका व्यक्तिले ट्युसन पढाउने चार घरमध्येका यी बालिकामा संक्रमण देखिएको हो ।

खासगरी उमेर बढी भएकोमा कोरोना संक्रमित देखिइरहेको बेलामा नेपालगञ्जमा ७ र ९ वर्षका बालिकामा पनि कोरोना देखिएको छ । एउटै टोलमा देखिएका २२ जना संक्रमितमा ७, ९, २१, २२ देखि ६० वर्षका छन् । भेरी अस्पताल, नेपालगन्जका डा.बद्री चापागाईले संक्रमितको सम्पर्कमा रहने बालबालिका पनि संक्रमण देखिनु सामान्य भएको बताए ।

‘नेपालगन्जमा संक्रमित बालिकालाई ६० वर्षका संक्रमितले पढाउन जान्थे, उनको दैनिक सम्पर्क रहेकाले बालिकाहरु संक्रमित भए,’ डा.चापागाईले भने, ‘बालबालिकामा संक्रमण नदेखिने भन्ने होइन । बालबालिकाको मुभमेन्ट बढी नहुने भएकाले संक्रमण कम देखिएको हुन सक्छ ।’

भेरीकै अर्का डा.राजन पाण्डेले कोरोनाबाट विश्वमै बालबालिकाको मृत्युदर कम रहेको जानकारी दिए । डा.पाण्डेका अनुसार, अहिलेसम्म नेपालमा सिरियस केस देखिएको छैन । १८ गतेसम्म कोरोना संक्रमित नदेखिएको नेपालगन्जमा पाँच दिनमा २३ जना संक्रमित भेटिएको छ । एकजनाको यात्रा विवरण लिँदा एउटै टोलमा २२ जना फेला परेका हुन् ।

अरु २२ जना संक्रमितको यात्रा विवरण निकाल्ने काम भइरहेको छ । एकाएक संक्रमितको संख्या ह्वात्तै देखिएपछि स्थानीय प्रशासनले आजदेखि नेपालगन्जलाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । नेपालगन्जवासीलाई घरभित्रै बसाइएको छ । सडक सुनसान छन् ।

एउटै टोलमा झण्डै दुई दर्जन संक्रमित देखिएपछि त्यो टोलका सबैको कोरोना जाँच गर्नुपर्ने आवाज उठेको छ । कोरोना जाँचको तीव्रता दिनुपर्ने बेलामा मंगलबार नेपालगञ्जमा कसैको स्वाव लिएको पाइएको छैन । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले संक्रमितसँग भिडियो कल गरेर सम्पर्क भएका व्यक्तिको पहिचान गरिरहेको बताए ।

‘रिचेक’ गर्न माग

खजुरास्थित आइसोलेशन अस्पतालमा रहेका संक्रमितहरुले आफ्नो फेरि कोरोना जाँच गर्न आग्रह गरेका छन् । बिरामीको कुनै लक्षण नदेखिएपछि उनीहरुले पुनः जाँचको आवाज उठाएका हुन् । नेपालगन्जका अगुवा एवं ६० वर्षका व्यक्ति पियन रहेको मस्जिदका व्यवस्थापन समितिका अध्यक्ष समसुद्दिन सिद्धिकीले संक्रमितहरुले आफूलाई फोन गरेर आइसोलेसन अस्पतालमा खाना दिएर बसाउने बाहेक केही नगरेको बताएको जानकारी दिए ।

‘उपचार केही गरिएको छैन । खाना दिएर राखिएको छ,’ सिद्धिकीले भने, ‘उनीहरुले रिचेक (पुनः परीक्षण) गर्न माग गरेका छन् ।’ सिद्धिकीको छिमेकीहरु हुन् उनीहरु । संक्रमण देखिएपछि आइसोलेशन अस्पतालमा पठाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सिद्धिकीले संक्रमित देखिएका मात्रै होइन, सबै टोलका मानिसको जाँच गर्न आवश्यक रहेको बताए ।

 

#देश सञ्चारबाट

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १७:१४