बाँके । नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगिसकेको छ । मंगलबार मात्रै थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । कोरोना भाइरस संक्रमणको इपिसेन्टर रहेको नेपालगन्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा पहिलोपल्ट गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखियो । आइतबार सोही आसपास १५ जना संक्रमित भेटिए । मंगलवार पनि सोही स्थानमै ७ जनामा संक्रमण देखियो ।
६० वर्षीय पुरुषमा कोरोना देखिएपछि ती क्षेत्रहरु सिल गरेर ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गर्दा थप २२ जनामा संक्रमण देखियो । जसमा ७ बर्षका बालक तथा ९ बर्षकी बालिका पनि छन् । यसले नेपालगन्जको स्थिति भयावह बन्ने आँकलन गरिएको छ । स्वास्थ्यकर्मीहरुले संक्रमितलाई पछ्याउँदै परीक्षणलाई तीव्र बनाइरहेका छन् । यो संख्या अझै बढ्ने आँकलन गरेर स्थानीय प्रशासनले नेपालगन्जमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।
एक सातामा झण्डै दुई दर्जन व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जबासी त्रसित बनेका छन् । अझ निषेधाज्ञा नै जारी गरेपछि नेपालगन्जका सडक सुनसान देखिएका थिए । स्थानीय प्रशासनले निषेधाज्ञा बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गर्ने चेतावनी दिएको छ । अहिले घरबाट बाहिर निस्किन पनि स्थानीयहरु डराइरहेका छन् । स्थानीय प्रशासनले संयम भएर घरभित्र सुरक्षित बस्न नेपालगन्जबासीलाई आग्रहसमेत गरिरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले परीक्षणलाई तीव्र बनाएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘निरन्तर परीक्षण भइरहेको छ ।’ हालसम्म भेटिएका नयाँ संक्रमितहरु पनि नेपालगन्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै हुन् । नेपालगन्जमा फेला परेका नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सक्रमित भएको पाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।
नयाँ सक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका स्थानीय भएको बताइएको छ । पहिलो सक्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुनसक्ने अनुमान छ । फेला परेका सक्रमित सातदेखि ५८ वर्ष उमेरका छन् । ‘हालसम्म कोरोना संक्रमण पुष्टि भएकाहरु तिनै पुरुषको सम्पर्कमा आएकाहरु हुनुहुन्छ,’ कोरोना फोकल पर्सन श्रेष्ठले भने ।
कोरोना कहाँबाट र कसरी सुरु भएको भन्नेमा अहिलेसम्म पत्ता लागेको छैन । ‘हामीले पहिलो केश नै पत्ता लगाउन सकिरहेका छैनौं, पोकल पर्सन श्रेष्ठले भने, ‘हामीले कारोना संक्रमण ‘ट्राभल हिस्ट्री’ खोजिरहेका छौं । पहिलो संक्रमित व्यक्ति नै हो वा अरु कसैबाट उनीमा सरेको भन्नेबारे पत्ता लागिसकेको छैन ।’ उनीबाटै कोरोना फैलिएको भन्नेमा अझै आशंका कायमै रहेको पोकल पर्सन श्रेष्ठले बताए ।
मदरसामा पढाउने ती पुरुषको सम्पर्कमा आएकाहरुलाई जाँच्दा नयाँ संक्रमित फेला परेको भए पनि ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुनसक्ने श्रेष्ठको शंका छ । संक्रमितहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुस्किल भएको उनले बताए । पहिलो संक्रमित ६० वर्षीय पुरुष रुपैडिहा, नानपारा लगायतका ठाउँमा आवातजावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ६० बर्षिय पुरुषलाई नै पहिलो केश भन्न नमिल्ने उनले बताए ।
६० बर्षिय पुरुषलाई अरुबाट सरेको वा अरु बाहिरबाट आएकाले संक्रमण फैलाए भन्नेबारे अझै प्रष्ट भएको छैन । यद्यपी भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । स्थानीय प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए ।
जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट संक्रमित भएको बुझिएको छ । उनी आफ्नो निवास रहेको जोल्हनपूर्वाबाट दैनिक तीन चारपटक नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले पनि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरेर थप स्वाब संकलन र परीक्षण भइरहेको श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिदैन । फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन ।’ कसैमा कुनै लक्षण नदेखिए पनि गत बिहीबार आशंकाको आधारमा नेपालगन्ज–८ स्थित जामा फूलबारी मस्जिदमा बस्ने ११ जनाको स्वाब संकलन गरेकोमा ६० वर्षिय पुरुषमा कोरोना भेटिएको थियो ।
स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठका अनुसार अहिलेसम्म पहिलो संक्रमितको ‘ट्राभल हिस्ट्री’ नै फेला परेको छैन भने अन्य संक्रमितको पनि ‘ट्राभल हिस्ट्री’ खोज्ने काम भइरहेको छ । उनका अनुसार संक्रमित रहेको क्षेत्रमा ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को काम भइरहेको र यो सकेपछि थ्रोड स्वाब लिएर परीक्षणलाई तीव्रता दिइने छ । संक्रमितहरु भेटिएको स्थानलाई पूर्णरुपमा सिल गरेरै ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गरिरहेको पनि उनले जानकारी दिए ।
श्रेष्ठका अनुसार कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये कसैमा पनि लक्षण देखिएको छैन । त्यसो त नेपालगन्जमा चाहेजति सबैको एकैसाथ जाँच हुन सकिरहेको छैन । किनकी आवश्यक उपकरण र जनशक्तिको अभाव छ । सोमबार मात्रै ५०० पिसिआर किट नेपालगन्ज आएको छ । त्यसले परीक्षणमा केही सहज भए पनि नेपालगन्जमा सबैको परीक्षण गर्नका लागि अझै १५ सय पिसिआर किट आवश्यक पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पहिलो पटक फेला परेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई पछ्याउँदै जाँदा २३ जनामा संक्रमण भेटिएको भए पनि कसैमा पनि लक्षण नदेखिएको हुँदा सर्वसाधारण झनै त्रास भएको छ । त्यसो त अहिलेको आइसोलेसन अस्पताल २५ बेड क्षमताको मात्रै रहेको हुँदा यही दरमा संक्रमितहरु बढ्दै जाने हो भने अर्को आइसोलेन अस्पताल बनाउनुपर्ने अवस्था देखिएको छ । नेपालगन्जमा तीनमा २३ जनामा कोरोना संक्रमण फैलिएपछि त्रासदी छाएको छ ।
सत्यपाटी ।