सूचनाको शक्ति - The Power Of Information

        

अब एकल पुरुषलाई पनि मासिक भत्ता !

मेलम्ची । एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक रु ५०० भत्ता उपलब्ध गराउन शुरुवात गरेको छ ।

सो गाउँपालिकाका सातवटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चाचू आर्थिक वर्षमा रु २० लाख विनियोजन थियो । ‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरुआत गरेका हौँं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो,’ उनले भने ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरु गरेपछि भने दोहोेरो सुविधा पाउने छैनन् । हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ । अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । रासस

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १४:४८