सूचनाको शक्ति - The Power Of Information

        

रक्सीमा ७० प्रतिशत ‘स्पेशल कोरोना शूल्क’

नयाँदिल्ली । भारतको दिल्लीमा रक्सी (मदिरा)को मूल्य ७० प्रतिशतले बढेको छ । दिल्ली सरकारले सोमबार बेलुका रक्सीको मूल्यमा ७० प्रतिशत ‘स्पेशल कोरोना शूल्क’ लगाउने निर्णय गरेको हो । सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको थियो, जस अन्तर्गत मदिरा पसलहरु खोल्न दिइएको थियो ।

सोमबार बेलुका दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना शूल्क थप गर्ने निर्णय गरेको हो । मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था पिटिआईले जनाएको छ । मंगलबारदेखि नै थप भएको विशेष कोरोना शूल्कसहित मदिरा बिक्री हुन थालेको जनाइएको छ ।

कोरोना भाइरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय भएको मानिएको छ । मदिरा पसलहरुमा आउने ग्राहकहरुले सामाजिक दूरी कायम नगरेको पाइएपछि दिल्लीमा मदिरामा विशेष कोरोना शुल्क लगाइएको जनाइएको छ । केन्द्र सरकारले सोमबारदेखि मदिराको खरिद बिक्रीको अनुमति दिएपछि मदिरा पसलहरुमा भीड लागेको थियो ।

दिल्ली कोरोना संक्रमणको उच्च जोखिममा रहेका कारण स्थानीय सरकारले संक्रमण फैलिन नदिन मदिरामा विशेष कोरोना शुल्क लगाएको बताइएको छ । दिल्ली सरकारका आयुक्त रवि दधिचले जारी गरेको आदेशमा मंगलबारबाट लागु हुनेगरी मदिरामा ७० प्रतिशतसम्म विशेष कोरोना शुल्क लगाइएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार १२:३८