सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप, प्रहरीको गाडी तोडफोड

फाइल तस्वीर

बाँके । निषेधित क्षेत्र घोषणा गरिएको नेपालगन्जमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगन्जको बा १ झ ८२८४ नम्बरको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउने क्रममा स्थानीय व्यापारीको समुहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सडक यात्रुलाई तितरवितर गर्ने क्रममा त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रबि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासी प्रहरीमाथि हातपात गरेका थिए । सो क्रममा प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिबबहादुर सिंले जानकारी दिए ।

बजार बन्द गराउने क्रममा एक्कासी प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिरहेको प्रवक्ता सिंहले बताए । स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई २३ गते आज विहान ११ बजेदेखि २५ गते मध्यरातसम्म (तीन दिन)का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

निषेधाज्ञा अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वाव संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङ्गका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने, राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानुनी कारवाहीसमेत गर्ने स्थानीय प्रशासनले जनाएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पर्ने सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याइने बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नेपालगन्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ खड्काको भनाई छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ११:३२