बाँके । सरकारले कोभिड–१९ संक्रमण देखिएका बाँकेसहित देशभरका २९ जिल्लालाई रेड जोनमा राखेको छ । लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी ३ क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको छ ।
स्रोतका अनुसार उक्त प्रतिवेदन सुझावमा २९ जिल्लालाई रातो, २८ जिल्लालाई पहेंलो र २० जिल्लालाई हरियो क्षेत्रमा छुट्याइएको छ । भारतसँग सिमा जोडिएका प्रदेश ५ का बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई रेड जोनमा राखिएको छ । त्यस्तै सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ भने गण्डकी प्रदेशको एउटा मात्रै जिल्ला बाग्लुङ्ग रेड जोनमा परेको छ ।
त्यसैगरी बाग्मती प्रदेशको काठमाडौं र चितवन तथा प्रदेश २ का सबै जिल्ला रेड जोनमा परेका छन् । प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी रेड जोनमा छन् । त्यस्तै प्रदेश १ का ८ जिल्ला उदयपुर, सुनसरी, मोरङ्ग, झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ्ग र भोजपुरलाई रेड जोनमा राखिएको छ भने हालसम्म संक्रमित नभेटिएको कर्णाली प्रदेश अहिलेसम्म ग्रीन जोनमै रहेको छ ।
सरकारले थप १५ दिनसम्म लकडाउन लम्ब्याउने र अन्य जिल्लामा आंशिक खोल्ने गरी आन्तरिक छलफल अगाडि बढाएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय सुझावमा यस्तो प्रस्ताव समेटिएको छ । रातो क्षेत्रमा पर्ने जिल्लाभित्र रहेका मुख्य संक्रमित स्थानलाई हट स्पट तोकेर पूर्ण लकडाउन पालना गर्ने र त्यस्ता हट स्पटलाई पूर्णरूपमा सिलबन्दी गर्नुपर्ने उल्लेख छ । पहेंलो क्षेत्रमा पर्ने जिल्लामा आंशिक लकडाउन जारी राख्ने तर रातो क्षेत्रमा पर्ने जिल्लाबाट ती जिल्लामा प्रवेश निषेध गर्नुपर्ने सुझाव दिइएको छ ।
सत्यपाटी ।