सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

बाँके । नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्रयाक्ट ट्रेसिङ गर्दै गरिएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या २३ पुगेको छ ।

शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ गर्दै गरिएको परीक्षणमा आइतबार एकैदिन १५ जना पोजेटिभ भेटिएका थिए । नेपालगन्जमा पाँच दिनमा २३ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–८ का २२, ३० र ४० बर्षिय पुरुष र ९, ३२, ३४ र ५५ बर्षिया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा मंगलबार विहान जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि संकलन गरिएका ९४ जनाको स्वाब परिक्षणमा २३ जनामा संक्रमण देखिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । संक्रमित भएकाहरुलाई बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

पछिल्लो पटक संक्रमित पुष्टि भएकाहरु पहिलो संक्रमितकै संसर्गबाट सक्रमण भएको जनाइएको छ । योसँगै देशभर संक्रमितको संख्या ८२ पुगेको छ । फोकल पर्सन श्रेष्ठका अनुसार आजबाट ‘कन्ट्रयाक्स टे«सिङ’ गरेर थप स्वाब संकलन गरेर परीक्षणलाई तीव्रता दिइनेछ । उनले स्वाब संकलनका लागि संक्रमितलाई ट्रेसिङ्ग गरिएको बताए ।

नेपालगन्जमा शुक्रबार एक पहिलो पटक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि आइतबार १५ जना र आज (मंगलबार) ७ जनामा पुष्टि भएको हो । संक्रमितको संख्या बढेसँगै बाँकेबासी त्रसित भएका छन् । संक्रमण फैलिन नदिन नेपालगन्जमा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

 

 

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०८:५०