सूचनाको शक्ति - The Power Of Information

        

नियमित औषधी खान नपाएर कंकादेवीको मृत्यु

बझाङ । साइपाल गाँउपालिका–१ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित औषधी खान नपाएर सोमबार विहान मृत्यु भएको छ । ४७ बर्षिया कंकादेवी बोहराको अस्पतालमा मृत्यु भएको हो । मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ बर्षदेखि नियमित औषधि सेवन गर्ने गर्दै आएकी थिइन् । विगत एक बर्षदेखि सदरम्ुकाम चैनपुरमा डेरा गरि बस्दै आएकी बोहराले खाने गरेको नियमित औषधि दुई साताअघि सक्कीएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो ।

जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले खाने नियमित औषधि उनले सेवन गर्न छोडेकै कारण उनको मृत्यु भएको बताएका छन् । डाक्टर ओखेडाले भने मुटुको भल्वमा समस्या भएकी बोहराले नियमित खानुपर्ने औषधि दुई हप्तादेखि औषधि नपाएर खान छोडेपछि गम्भीर अवस्थामा अस्पतालमा आएकी बोहराको प्रयास गर्दा गर्दै ज्यान बचाउन सकिएन । डाक्टर ओखेडाले थप्दै भने, ‘उहाँको समस्याबारे हामीलाई पहिल्यै जानकारी भएको भए औषधि उपलब्ध गराउन पहल गर्न सकिन्थ्यो ।’

मुटुको समस्या भएकी बोहरा आफ्ना पाँच वर्ष र सात बर्षका छोराहरुको साथमा चैनपुरमा डेरा गरि बस्दै आएकी थिइन् । मृतक बोहराले आफ्नो नियमित खाने औषधि सक्किएपछि आफ्नो स्वास्थ्यमा अफ्ठेरो भैरहेको आफन्तहरुलाई समेत जानकारी गराउँदै आएकी थिइन् । उनको डेरा नजीकै बस्ने करिस्मा विकले भनिन्, ‘लकडाउनको समयमा उहाँको समस्या सम्बन्धित निकायमा नपुग्दा मृत्यु भयो ।’ उनको स्वास्थ्य समस्या बल्झदै गएपछि छिमेकीहरुले उनलाई दुई दिनअघि लगेका थिए ।

मृतकका नाबालक ५ बर्षिया र ७ बर्षिया छोराले आमा अझै अस्पतालबाट आएनन् आन्टी भनेर आफुलाई साध्ने गरेको घरबेटी पवित्रा बोहराले बताइन् । उनले भनिन्, ‘नाबालकहरुलाई भने आमाको मृत्युबारे जानकारी गरेको छैन, उनीहरुको हेरचाह मैले गरिरहेकी छु ।’ आमाको मृत्यु भएपछि २ छोरा र गाँउमा रहेकी १ छोरी र एक छोराको विचल्ली हुने भएको छ । पवित्राले भनिन्, ‘हाम्रै पहलमा काठमाडौंबाट औषधि मगाउने गरेका थियौ ।

लकडाउनका कारण औषधि मगाउन नसकेपछि उनलाई झन् समस्या भएको हो ।’ १० बर्षदेखि मुटुको समस्या झेल्दै आएकी बोहरालाई केही बर्षअघि काठमाडौं उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए । श्रीमान्को राजमल बोहराको मृत्यु र त्यसको केही बर्षपछि देबरको समेत मृत्यु भएपछि उनले अप्रेशन गर्न सकेकी थिइनन् । मृतक बोहरा आफुले पाउने एकल महिला भत्ताको आम्दानीले डेरामा बसी, छोराछोरीको पढाई खर्चका साथै आफ्नो औषधि खर्चको जोहो गर्दै आएकी थिइन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०८:१७