सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज आइपुग्यो ५०० किट, कोरोना परीक्षणमा थप सहजता

बाँके । बाँकेको नेपालगन्जमा १६ जना कोरोनाका संक्रमित भेटिएसँगै यहाँको सुरक्षा व्यवस्था र स्वास्थ्य परीक्षणमा सम्बन्धित निकायको विशेष ध्यान गएको छ । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा सोमबार नै बुटवलबाट किट नेपालगन्ज आएसँगै स्वाब परीक्षणमा थप सहजता हुने भएको छ ।

स्वास्थ्य परीक्षणका लागि किट अभाव भएको भनिए पनि सोमबार दिउँसो ५०० थान किट बुटवलबाट नेपालगन्ज आएसँगै स्वाब परीक्षणमा सहज हुने स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए । उनका अनुसार मङ्गलबारसम्मका लागि किट थियो, सोमबार नै थप किट आएपछि अब बाँकेमा केही दिनका लागि किट अभाव हुँदैन ।

‘कोरोना संक्रमण आशंकित बढेकाले थप किटको आश्वयकता थियो । स्वाब परीक्षणमा किट अभाव हुन्छ कि भन्ने चिन्ता थपिएको थियो । हामीले थप परीक्षणको दायरा बढाउन किट माग गरेका थियौं । समयमै किट आइपुगेकाले अब स्वाब परीक्षणमा कुनै समस्या छैन,’ कोरोना फोकल पर्शन श्रेष्ठले भने, ‘अब परीक्षणको दायरा पनि बढाउँछौं ।’

उनले कोरोना परीक्षणका लागि अहिले आएको किट पनि पर्याप्त नहुने भन्दै केन्द्रसँग थप किट माग गर्ने बताए । कोरोना फोकल पर्शन श्रेष्ठले भने, ‘हामी परीक्षणको दायरा बढाउनुपर्ने देखिएको छ । अहिले आएको किट पनि पर्याप्त नहुनसक्छ । यसका लागि थप किट माग गरेर कोरोना परीक्षण प्रभावित हुन दिँदैनौं ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले किटको अभाव नरहेको भन्दै परीक्षणको कामलाई तीव्रता दिइएको बताए । उनले भने, ‘आजै ५०० किट आइपुगेको जानकारी मैले पाएको छु । अबका दिनमा किटको अभाव नहुने र परीक्षणको दायरालाई तीव्रताका साथ अझ बढाइनेछ ।’

शुक्रबार नेपालगन्जमा एक जना ६० वर्षिय बृद्धलाई कोरोना संक्रमण देखिएपछि बाँकेको नेपालगन्जबासी निकै त्रसित बनेका थिए । त्यसको दुई दिन नबित्दै नेपालगन्जमा १५ जना कोरोना भाइरस संक्रमित भेटिएपछि त्रास थप बढेको छ । नेपालगन्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–८ स्थित जोल्हनपूर्वास्थत अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । मोअज्जीनलाई कोरोना देखिएपछि पुरै टोललाई सिल गरेर शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित रहेका १६ जनालाई खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा राखिएको छ । अझै केहीको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ । कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने मेसु थापाको भनाई छ ।

कोरोना संक्रमित सबै उनकै टोलका बासिन्दा हुन् । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले संक्रमित भेटिएका नेपालगन्ज डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरेर ‘कन्ट्रयाकट ट्रेसिङ’ गरिरहेको छ ।

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटिरहेका छन् । नेपालगन्जमा कोरोना संक्रमित देखिएसँगै थप संक्रमण फैलिन नदिन सिङ्गो जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको पनि प्रजिअ खड्काले बताए ।

बाँकेको नेपालगन्ज कोरोनाको अति उच्च जोखिममा देखिएसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साथै प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालय, बाँकेस्थित स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन र प्रहरीले सुरक्षा व्यवस्थापनका पक्षमा विशेष ध्यान दिँदै आमनागरिकको स्वास्थ्य परीक्षणमा सक्रियता देखाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १८:१८