सूचनाको शक्ति - The Power Of Information

        

कुवेतमा ३५ सय नेपालीलाई पाए आममाफी

काठमाडौं । कुवेतमा अवैधरुपमा बस्दै आएका ३५ सय नेपालीले आममाफी पाएका छन् । कुवेतले अवैध रहेका नेपाली श्रमिकहरुलाई अप्रिल २६ देखि ३० तारिखसम्म आममाफी प्रक्रियामा सहभागिका लागि मिति तोकेको थियो । विश्वमा कोरोना भाइरस फैलिएसँगै कुवेतले त्यहाँ रहेका अवैध आप्रवासी श्रमिकहरुलाई आममाफी दिएर स्वदेश फर्काउन सुरु गरिसकेको छ ।

यस्ता अवैध श्रमिकहरुका लागि जरिवानासमेत मिनाहा गरी फर्काउन सुरु गरेको हो । पाकिस्तान, बंगलादेश, भारत, श्रीलंका, चीन, म्यानमार लगायत अन्य मुलुकहरुले आफ्ना देशका नागरिकहरु फर्काउन सुरु गरिसकेका छन् । भारतको बाटो हुँदै कुवेत प्रवेश गरेका तथा करार अवधि सकिएपछि पनि लुकीछिपी कार्यरत रहेका नेपाली श्रमिकहरुलाई कुवेत सरकारले आममाफी दिएको हो ।

आममाफी पाएका श्रमिकहरुले स्वदेश फर्किन कुनै शुल्क तिर्नुपर्दैन । कुवेत सरकारले पनि आममाफी पाएका अवैध आप्रवासीहरुलाई घर फर्काउन तयारी अवस्थामा राखेको दूतावासले जनाएको छ । यसरी आममाफी पाएका श्रमिकहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आममाफी अवैध रुपमा रहँदै आएका श्रमिकहरुका लागि एउटा अवसर पनि भएकाले नेपाल सरकारले आममाफी पाएका श्रमिकहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । आममाफी पाएका श्रमिकहरुलाई कसरी सुरक्षित साथ ल्याउने र व्यवस्थित क्वारेन्टाइनमा राख्ने भनेर गृहकार्य पूरा भइसकेपछि उनीहरुलाई नेपाल ल्याउने उल्लेख गरिएको छ ।

‘विदेशबाट फर्काइहाल्ने भन्दा पनि प्रशस्त पूर्वतयारी गर्नुपर्ने देखिएको छ सोही अनुसार तयारी भइरहेको छ,’ महानिर्देशक दाहालले भने । कुवेतमा ठूलो संख्यामा भारतको बाटो हुँदै गएका तथा करार अवधि सकिएपछि पनि अवैध रुपमा रहँदै आएका नेपाली श्रमिकहरुको संख्या हजारौंको भएको अनुमान छ । सात हजारभन्दा बढी त अवैध रुपमा बसेका कामदारहरु नै हुनसक्ने अनुमान छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:५८