सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा १५ लाखको राहत वितरण

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामाग्रीको विवरण तथा कुल बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनको घोषणापछि अति विपन्न परिवारलाई वितरण गर्न गाउँपालिकाले बजेट छुट्टाएको थियो ।

गाउँपालिकाले छुट्टाएको रु १५ लाख ५० हजार र प्रदेश सरकारबाट प्राप्त रु १० लाख गरि जम्मा रु २५ लाख ५० हजार विपन्न परिवारलाई राहत वितरणका लागि बजेट छुट्टयाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए । उनका अनुसार पहिलो चरणमा खाद्यान्न खरिदका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धामार्फत रु १४ लाख ७७ हजार ४८० बराबरको खाद्यान्न सामाग्री खरिद गरिएको छ ।

जसअनुसार रु ४ हजार १५० प्रतिक्वीन्टलका दरले रु ८ लाख ३० हजारमा २०० क्वीन्टल चामल, रु १२ हजार २०० प्रतिक्वीन्टलका दरले रु ३ लाख १७ हजार २०० मा २६ क्वीन्टल दाल, रु १४५ रुपैयाँ १४ पैसा प्रतिलिटरका दरले रु २ लाख ९० हजार २८० मा २ हजार लिटर सनफ्लावर खाने तेल र रु २० प्रतिकिलोमा रु ४० हजारमा २०० किलो नून खरीद गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले पारदर्शीता अपनाएर सामाग्री खरिद गरिएको बताए । पहिलो चरणको खाद्यान्न वितरण सकिएपछि मात्रै दोस्रो चरणको राहत खरिद गरिने पनि उनले जनाए । गाउँपालिकासँग अहिलेसम्म रु १० लाख ७२ हजार ५२० कोषमा जम्मा रहेको छ भने संघीय सरकारले करिब रु १० लाख उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । यो खाद्यान्नले करिब १ हजार ३०० घरपरिवारलाई पुग्नेछ ।

राहत वितरणका लागि गाउँपालिकाले वडा कार्यालयमार्फत विपन्न परिवारको लगत संकलन गर्दा वास्तविक पीडितसँग मध्यमवर्गका व्यक्तिको नाम संकलन भएपछि परिवारको संख्या बढेको जनाइएको छ । गाउँपालिकाले १ हजार ८ सय घरधुरीलाई राहत वितरण गर्ने लक्ष्य लिएको थियो । तर पछिल्लो समय परिवारिक लगतको संख्या बढेपछि वितरणमा समस्या आएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनले अहिले राहत वितरणसँगै फेरी परिवारको लगत संकलनमा अपडेट गर्ने कार्य भईरहेको बताए । वडा नंं.१ र २ मा केही परिवार, वडा नंं ४ मा २७०, वडा नंं. ५ मा २९८ र वडा नंं ६ मा १०० घरपरिवारलाई राहत वितरण गरिसकिएको गाउँपालिकाले जनाएको छ । वडा नंं ३ मा धेरै परिवारको लगत आएकाले अहिले वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:४१