सूचनाको शक्ति - The Power Of Information

        

घर जान नपाएपछि हुम्लीले दिए नेपालगन्ज विमानस्थल अगाडी धर्ना

बाँके । नीजि वायुसेवा कम्पनीहरुले एकाएक उडान रोकेपछि हुम्लाका लागि जहाजको टिकट लिएका यात्रुहरु नेपालगन्जमै अलपत्र परेका छन् । अध्ययन, व्यापार र अन्य कामको शिलशिलमा जिल्ला बाहिर रहेकै समयमा लकडाउनमा परेका हुम्लाका नागरिकहरु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका हुन् ।

नेपालगन्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएपछि नीजि वायुसेवा कम्पनीहरुले एकाएक उडान स्थगीत गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा नेपालगन्जबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै हुम्ला ओसारिएको थियो । नेपालगन्जमा रहेका ४९५ जनामध्ये अझै १९५ जना नेपालगन्जमै अलपत्र परेको अनुमान छ ।

जसमध्ये आज सोमबारका लागि टिकट लिएका ७० भन्दाबढी यात्रुहरु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् । हुम्लाको सिमकोटका लागि टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरु घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडीको मुख्य सडकमै धर्ना दिनुपरेको जनाएका छन् ।

आज सोमबारका लागि टिकट लिएका यात्रु वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताएका छन् । नेपालगन्जबाट हुम्लाका लागि उडान भर्दै आएका जहाजका चालकहरुले उडान भर्न नमान्दा हुम्ला जाने यात्रुहरु नेपालगन्जमै रोकिएका हुन् ।

समिट एयरले लकडाउन अवधिभर उडान स्थगीत गरेको जनाएको छ । हुम्लाबासीको मागलाई मध्यनजर गर्दै हुम्लाका नागरिक ओसार्ने काम शनिबारबाट सुरु भएको हो । सीता एयरका तीन वटा, तारा र समिट एयरका एक एक वटा जहाजमार्फत नेपालगन्जमा फसेका हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकको उद्धार सुरु भएको थियो ।

यीमध्ये विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, साठी बर्षमाथिका नागरिकलाई प्राथमिकता दिएर ओसार्न सुरु भए पनि नेपालगन्जमा कोरोना संक्रमित भेटिएपछि एकाएक उडान स्थगीत गरिएको छ । जिल्ला बाहिर फसेका नागरिकहरुलाई हवाई मार्गबाट उद्धारका लागि हुम्लाका जनप्रतिनिधिको आग्रह अनुसार पर्यटन मन्त्रालयले सडक सञ्जाल नजोडिएका हिमाली जिल्लाका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:२०