सूचनाको शक्ति - The Power Of Information

        

कोरोना रोकथाममा थप सक्रिय हुन मन्त्रीको निर्देशन, अफवाह फैलाउनेलाई प्रहरीको चेतावनी

बाँके । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझै सक्रियरुपमा लाग्न निर्देशन दिएका छन् । कोरोनाको संक्रमण नेपालगन्जमा बढेपछि आज (सोमबार) नेपालगन्ज आएका मन्त्री बरालले यहाँका स्वास्थ्यकर्मीहरुको छलफलमा यस्तो निर्देशन दिएका छन् ।

बैठकमा मन्त्री बरालले कोरोनाको अवस्था बुझ्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा बढाउन निर्देशन दिए । उनले स्वाब परीक्षण लगायत कोरोना भाइरस संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री लगायतको व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

नेपालगन्ज आइपुगेका मन्त्री बरालले दिनभर विभिन्न स्वास्थ्यकर्मी, राजनीतिक दल, यहाँका प्रशासनीक निकायसँग छलफलमा ब्यस्त छन् । विहान यहाँस्थित स्वास्थ्यकर्मी र सर्वदलीय बैठक सकिएलगत्तै आज दिउँसो बाँकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग भेटेर सर्वदलीय सर्वपक्षिय बैठकमा सहभागी भएका थिए ।

मन्त्री बरालले नेपालगन्जस्थित भेरी अस्पताल, आइसोलेशन लगायतका अवस्थाका बारेमा जानकारी लिएका थिए । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापाले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे मन्त्री बराललाई जानकारी गराएका थिए ।

अफवाह फैलाउनेलाई प्रहरीको चेतावनी

सामाजिक सञ्जालमा अफवाह फैलाउनेमाथि बाँके प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सूचना जारी गर्दै सामाजिक सञ्जालमा कोरोना संक्रमणको भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको हो । बाँके प्रहरीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचनाविना कुनै पनि सूचनाहरुमाथि बिश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले बनाएको मापदण्डका आधारमा सूचना सम्प्रेसण तथा जानकारी दिने भएकोले कसैले पनि सामाजिक संजालमा भ्रामक र गलत सूचना प्रकाशन, प्रसारण, पोष्ट, शेयर र कमेन्ट नगरी दिन जिल्ला प्रहरीका प्रवक्ता शिवबहादुर सिंहद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पार्ने, जात, धर्म, वर्ण, पेशा, लिङ्गका आधारमा कसैलाई लक्षित गरी समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोधसमेत गरेको छ । कसैले पनि यस प्रकारका कार्यमा गलत र भ्रामक सूचना प्रकाशित, प्रसारित गरे कानुनी कारवाहीसमेत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १५:१३