सूचनाको शक्ति - The Power Of Information

        

दुई दिनमै १७ जनामा कोरोना संक्रमण भेटिएपछि प्रदेश नं ५ मा थप सजगता

बाँके । प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ । एकैपटक धेरै संख्यामा कोरोना भेटिएपछि नागरिकमा त्रास कम गर्न बाँकेसहित प्रदेशका सबै जिल्लामा सुरक्षा सतर्कता कडा बनाइएको छ । प्रदेश नं ५ मा पहिलो पटक रुपन्देही र बाँकेमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बन्दाबन्दीबीच रुपन्देहीका कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सिमानामा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले जानकारी दिए । ‘अहिले कोही पनि आवतजावत गर्न नमिल्ने गरी सीमा नाका पूर्णरुपमा बन्द गरिएको छ,’ प्रनाउ पोखरेलले भने ।

प्रदेशका सबै जिल्लामा सुरक्षा समितिको बैठक बसेर सुरक्षा सतर्कता बढाउने निर्णयसमेत गरिएको उनले बताए । प्रहरीले बन्दाबन्दीको पूर्ण पालनाका लागि विशेष निगरानी गरेको बताउँदै प्रवक्ता पोखरेलले भने, ‘सबै ठाउँमा प्रहरीले हेर्न भ्याउँदैन, नागरिक आफैँ सचेत भएमा लकडाउनको पालना हुने हो । यस समयमा सबै मिलेर कोरोनाको जोखिम कम गर्नुपर्छ ।’

यस्तै बाँकेमा पनि १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै थप सजगता अपनाइएको छ । यहाँका नागरिकले आफ्ना घर, टोल र वडा तहमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरेर सुरक्षित हुने उपाय अवलम्बन गरेका छन् । छिमेकी वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि वडा नं ७ र ९ का बासिन्दा त्रसित छन् ।

संयमित र सतर्क भई घरमै सुरक्षित रहन वडावासीलाई आग्रह गर्दै वडामा बाहिरी व्यक्तिको आवागमन हुन नदिन निगरानी गरिएको वडा नं ९ का वडाध्यक्ष विष्णुबहादुर लामाले बताए । आइतबार अपराह्न ९ र राती ६ गरी एकैपटक १५ जनामा कोरोना देखिएसँगै नेपालगन्जमा त्रास देखिएको छ ।

उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा नेपालगन्जमा कोरोना भाइरस सङ्क्रमित भेटिए पनि आतङ्कित नभई नगरवासीले धैर्य गर्नुपर्ने बताउँछन् । बन्दाबन्दीको पूर्ण पालना गर्दै सुरक्षित साथ घरमा बस्न उनको आग्रह छ । आइतबारसम्म नेपालगन्जमा सङ्क्रमित १६ पुगेका छन् । आइतबार मात्रै १५ जना थपिएका छन् ।

त्यही समूहका अझै केहीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाँकी स्वाबको आज रिपोर्ट आउने छ । भेरी अस्पताल नेपालगन्जमा शनिबार स्वाब लिइएका ९० मध्ये १५ जनामा कोरोना देखिएको छ ।

यही वैशाख १७ गते मस्जिदमा स्वाब लिइएका ६० वर्षीयमा शुक्रबार कोरोना देखिएपछि उहाँको सम्पर्कमा रहेका व्यक्तिको स्वाब लिइएको थियो । आइतबार थप चार जनाको स्वाब सङ्कलन गरिएको छ । आइतबार फेला परेका १५ जना सङ्क्रमितलाई कोरोना विशेष आइसोलशन अस्पताल खजुरामा उपचारका लागि भर्ना गरिएको छ ।

कोभिड–१९ का बिरामीका लागि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेशन विशेष अस्पताल तयार गरी उपचारको व्यवस्था मिलाइएको छ । उनीहरु सबैलाई राति करीब साढे १० बजेतिर अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

पहिलोपटक शुक्रबार एक ६० वर्षीय पुरुषमा सङ्क्रमण देखापरेपछि स्थानीय प्रशासनले आरटीपिसिआर यन्त्रबाट परीक्षण शुरु गरेको छ । नेपालगन्जमा पहिलो पटक भेटिएका सङ्क्रमित पुरुषको सम्पर्कमा रहेकामध्येबाट सङ्कलित स्वाब परीक्षण गर्दा नयाँ सङ्क्रमित भेटिएका हुन् । उनीहरु सबै नेपालगन्ज–८ का बासिन्दा हुन् ।

नयाँ थपिएका सङ्क्रमितमा सात वर्षीया बालिकासहित सात महिला छन् । उनीहरुको उमेर सात, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्ष छ । यस्तै आठ पुरुषको उमेर १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले शनिबार सङ्कलित ९० स्वाबमध्ये ५५ जनाको नतिजा आइसकेको र बाँकी ३५ जनाको परीक्षण भइरहेको बताए ।

उनका अनुसार आइतबार थप चार जनाको सङ्कलन गरिएको स्वाबसहित अब ३९ नमूना परीक्षणको नतिजा आउन बाँकी छ । यता बुटवलका संक्रमित युवक दिल्लीको गान्धीनगरमा सिलाइकटाइको काम गर्दै आएका थिए । उनी यही वैशाख १ गते दिल्लीबाट हिँडेका थिए । वैशाख ५ गते दिउँसो १ बजे ठोठरी नाकाबाट सहजै नेपाल प्रवेश गरेका थिए ।

घर पुग्नुअघि युवकलाई परिवारका सदस्यले बाटामा भेटी क्वारेन्टाइन पुर्याएका थिए । जिल्ला स्वास्थ्य कार्यालयले युवकको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि बुटवलस्थित आइसोलेशनमा भर्ना गरिएको छ । बन्दाबन्दीको समयमा कोरोना संक्रमित युवक सहजै नेपाल प्रवेश गरेपछि रुपन्देहीमा त्रास बढेको छ ।

कोटहीमाई–१ का २५ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । दक्षिणी क्षेत्र मर्चवार, लुम्बिनीलगायत स्थानमा कोरोनाको त्रास बढेको लुम्बिनी–१० का घनश्याम गुप्ताले बताए । ‘बन्दाबन्दीमा पनि सजिलै आउन मिल्ने भएपछि हामी सिमाना नजीकै रहेकालाई झन् डर भयो,’ उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १२:२२