सूचनाको शक्ति - The Power Of Information

        

थप १५ संक्रमितलाई संसर्गबाट संक्रमण

कोरोना संक्रमित भेटिएपछि सिल गरिएको नेपालगन्ज महेन्द्र पार्क क्षेत्र ।

कोरोना संक्रमित भेटिएपछि सिल गरिएको नेपालगन्ज महेन्द्र पार्क क्षेत्र ।

बाँके । नेपालगन्जमा आइतबार थप १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटीपिसिआर यन्त्रमा परीक्षणको क्रममा साँझ थप ६ जनामा कोरोना पोजेटिभ फेला परेको थियो । यसअघि आइतबार अपराह्न ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । भेरीको कोरोना प्रयोगशालामा निरन्तर परीक्षण भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘निरन्तर परीक्षण भइरहेको छ, मन्त्रालयले पुष्टि गर्दै जानेछ ।’ उनका अनुसार अहिले भेटिएका नयाँ सङ्क्रमित पनि नेपालगन्ज–८ स्थित जोल्हनपूर्वा आसपासकै भएको अनुमान छ । यससँगै नेपालगन्जमा एकै दिन कोरोना पोजेटिभको सङ्ख्या १५ पुगेको छ । यसअघि एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

नेपालगन्जमा फेला परेका नयाँ सङ्क्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट सङ्क्रमित भएको पाइएको छ । नयाँ सङ्क्रमित सबै पहिलो पटक सङ्क्रमण देखिएका नेपालगन्ज–८ डिएसपी रोडका ६० वर्षीयको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो सङ्क्रमित व्यक्तिले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । फेला परेका सङ्क्रमित सातदेखि ५८ वर्ष उमेरका छन् ।

उनीहरु कसैमा पनि कोरोनाको लक्षण नदेखिए पनि कोरोना सङ्क्रमण भएको थियो । फोकल पर्सन श्रेष्ठका अनुसार पहिलो सङ्क्रमितको सम्पर्कमा आएका ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएकामा ३० को नमूना परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई उपचारका लागि खजुरास्थित आइसोलेशन अस्पतालमा राखिएको छ । नब्बेमध्ये अझै ५४ जनाको रिपोर्ट आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने बताइएको छ ।

कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले थप सतर्कता अपनाउनुपर्ने भेरी अस्पताल नेपालगन्जका प्रमुख डा प्रकाश थापाले बताए । उनले कोरोना भाइरस जोसुकैमा पनि सङ्क्रमण हुने भएकाले घर बाहिर निस्कन नहुनेमा जोड दिए । नेपालगन्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक नेपालगन्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ११:३२