सूचनाको शक्ति - The Power Of Information

        

जर्मनीबाट परीक्षण कीट ल्याउँदै नेपाली सेना

काठमाडौं । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो ।

मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन । ‘पहिले आएका सबै कीट हामीले परीक्षणका लागि सबै ठाउँमा पठाएका छौँ,’ उनले भने, ‘परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याउँदैछौँ ।’ पिसिआरबाट भने क्षमताअनुसार परीक्षण गरिएको छ ।

पिसिआर पनि थोरै भएकाले अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्ने भनेर राखिएको उनले जानकारी दिए । सरकारले क्वारेन्टाइनमा रहेका सबैको परीक्षण गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ११:१४