बाँके । नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएपछि बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगन्जमा कोरोना संक्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा ब्यवस्था कडा पारेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए
स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरिसकेको छ । उनका अनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचानका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटेको प्रजिअ खड्काले बताए ।
‘उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर थप कदमहरुको बारेमा निर्णय लिइन्छ,’ प्रजिअ खड्काले भने । उनले कोरोना संक्रमण फैलन नदिन उच्च सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न सबैमा अपिल गरेका छन् । लकडाउनको ३८ औं दिन नेपालगन्जमा संक्रमण देखिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका–८ स्थित जोलाहनपूर्वास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति)मा पहिलो पटक संक्रमण पुष्टि भएको हो । मोअज्जीनलाई कोरोना देखिएपछि पुरै टोललाई सिल गरेर शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये थप १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमित सबै उनकै टोलका बासिन्दा हुन् । सबैको आइसोलेसनमा राखेर उपचार भइरहेको आइसोलेसन अस्पताल खजुराका प्रमुख डा.प्रकाश थापाले जानकारी दिए । आइसोलेशन सेन्टर रहेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा संक्रमितहरु भर्ना भएसँगै खजुरा गाउँपालिकाले पनि उच्च सतर्कता अपनाएको छ ।
संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले सोमबार बिहान ६ बजेदेखि लागु हुने गरी पुरै पालिकालाई बन्द (सिल) गरेको छ । संक्रमित थपिएसँगै उनीहरुलाई भेट्न आउने तथा अन्य गतिबिधिका कारण जोखिम बढ्न सक्ने भन्दै पुरै पालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
गत शुक्रबार एक जना र आइतबार १५ जना संक्रमित पुष्टि भएका १६ जनाको खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कारोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवलसम्शेर राणाले नेपालगन्जबासीलाई सावधानी अपनाउन आह्वान गर्दै नेपालगन्जबासीलाई घरबाहिर ननिस्किन र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् । ‘कन्ट्रयाक्ट ट्रेसिङ’मार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भइरहेको पनि उनले जानकारी दिए ।
नगर प्रमुख राणाले संकटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गर्दै भने, ‘संकटको बेला सबै नागरिकले संयमता अपनाउनुपर्छ, सावधान बनौं, आत्तिनुहुँदैन । लकडाउन सबैले पालना गरौं ।’ उनले विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा नेपालगन्जबासीलाई जोखिमबाट बच्न र सचेत हुन आग्रह गरेका छन् ।
पहिलो संक्रमितको एकाघरको परिवारका २ जनासहित ३५ जनाको अझै रिपोर्ट आएको छैन । आइतबार साँझसम्म ५५ जनाको रिपोर्ट आएको छ । नेपालगन्जमा एकाएक संक्रमितको संख्या बढेपछि खजुरा गाउँपालिकासँगै अन्य स्थानीय तह पनि पूर्णरुपमा सिल गरिएको छ । कोहलपुर नगरपालिकाले आफ्नो दक्षिणतर्फको सिमा पूर्णरुपमा सिल गरेको छ ।
नेपालगन्जसँग जोडिने दक्षिणतर्फको सिमा सिल गर्ने तथा अन्य नाकामा पूर्णरुपमा कडाई गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमूख लुटबहादुर रावतले जानकारी दिए । आपतकालिन सेवा बाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा पूर्णरुपमा रोक लगाएको नगर प्रमूख रावतले जानकारी दिए ।
कोहलपुर नगरपालिका–१५ को चौधरीया गाउँबाट बाहिरी ब्यक्तिहरु नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना गरिने सबैखालका औपचारिक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
यस्तै राप्तीसोनारी गाउँपालिकाले नेपालगन्जसँग जोडिएको ६ नं. वडाको नाका सिल गरेको छ । सो वडाको नेपालगन्जसँग जोडिएको राप्ती पुललाई पूर्णरुपमा बन्द गरिएको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनका अनुसार नरैनापुरसँगको पूर्वी नाका पनि बन्द गरिएको छ ।
सत्यपाटी ।