बाँके । आजै (आइतबार) बाँकेमा १५ जना कोरोना संक्रमित भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलसम्शेर राणाले सावधानी अपनाउन बाँकेबासीलाई आह्वान गरेका छन् । उनले बाँकेबासीलाई घरबाहिर ननिस्किन आग्रह गर्दै लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
‘कन्ट्रयाक्ट ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भइरहेको बताउँदै नगर प्रमुख राणाले संकटका बेला लकडाउनको पूर्णपालना गर्न आग्रह गरेका छन् । उनले भने, ‘संकटको बेला बाँकेबासीले संयमता अपनाउनुपर्छ, हामी आत्तिनुहुँदैन । सबैले सरकारले गरेको लकडाउन पालना गरेर सावधान बनौं ।’
नगर प्रमुख राणाले आइतबार विज्ञप्ती जारी गर्दै नेपालगन्जमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन बाँकेबासीलाई आग्रह गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्णरुपमा पालना गरेर बाँकेबासी, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सबै स्थानीय तहलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोधसमेत गरेका छन् ।
नगर प्रमुख राणाले विज्ञप्ती जारी गर्दै विश्वभर कोरोना महामारी फैलिरहेको अवस्थामा आम बाँकेबासीलाई जोखिमपूर्ण घडिमा संयमता अपनाउन आग्रह गर्दै अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापनसमेत गरेका छन् ।
नगर प्रमुख राणाले आम बाँकेबासीलाई थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गर्दै बाँकेमा कोरोना संक्रमण देखिएपछि नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, भेरी अस्पताल र स्थानीय प्रहरी प्रशासन सक्रियरुपमा परीक्षणमा जुटेकाले बाँकेबासीलाई संयम रहन आग्रह गरेका छन् ।
नेपालगन्जमा १५ जना कोरोना संक्रमित भेटिएपछि संयमतासँगै सावधानी अपनाउन आग्रह गर्दै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा संक्रमितको उपचार भइरहेको र कोरोनाविरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वय भइरहेको बताएका छन् । योसहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।
सत्यपाटी ।