सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भेटिएपछि त्राससँगै नेपालगन्जवासीको फेरियो दिनचर्या

बाँके । कोरोना भाइरस सङ्क्रमणका लागि जारी बन्दाबन्दीको बेवास्ता गर्दै सडकमा निस्किने नेपालगन्जवासीको दिनचर्या फेरिएको छ । शुक्रबार एक जनामा सङ्क्रमण देखिएपछि मात्र नेपालगन्जवासी कोरोनाबाट त्रसित हुन पुगेका छन् ।

विभिन्न बहानामा सडकमा निस्कनेलाई दैनिकजसो प्रहरीले नियन्त्रणमा लिने गरेकामा शनिवार नेपालगन्जका सडक सुनसान देखिएका थिए । नेपालगन्जमै कोरोनाको बिरामी भेटिएपछि त्रासले नेपालगन्जवासीको दिनचर्यामा परिवर्तन आएको हुन सक्ने बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

उनले स्थानीय प्रशासनले बिहान १० बजेदेखि अत्यावश्यक बाहेकका पसल बन्द गराई आवतजावत बन्द गराएकाले बेवास्ता गरी उल्लङ्घन गरेमा कानूनी कारवाही गरिने उल्लेख गरे । नेपालगन्जका मुसलमान समुदायका अगुवा मोहम्मद हारुन हलवाईले कोरोना पोजेटिभ देखिएपछि समुदायमा त्रास देखिएको बताए ।

‘पहिलेदेखि नै मान्छे डराइरहेका थिए, घरमै बसेर नमाज पढ्ने काम भइरहेको थियो,’ उनले भने, ‘एक जनामा कोरोना देखिएपछि अहिले धेरै त्रास भएको छ, मान्छे घरबाट बाहिर निस्किन डराइरहेका छन् ।’ उनले त्रास मात्रै गरेर केही नहुने भएकाले थप सतर्कता अपनाउनका लागि टोलटोलमा अनुगमन गरी मुसलमान समुदायलाई रमजानको सबै कार्यक्रम घरभित्रै गर्न आग्रह गरिएको बताए।

८३ को स्वाब सङ्कलन

नेपालगन्जमा कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो । आइतवार नै उनीहरुको कोरोना रिपोर्ट आउने छ ।

सो टोलमा कोरोना संक्रमित व्यक्ति दैनिक मस्जिद तथा मदरसामा आएको देखिएकाले त्यहाँ रहेका ७८ जनालाई टोललाई नै एकान्तबास बनाएर राखिएको छ । स्थानीय प्रशासनले शुक्रवार रातिदेखि नै सो टोललाई बन्द गरेको छ । अब १४ दिनसम्म टोलभित्र आवतजावत ठप्प गराइएको छ । सङ्क्रमितका परिवार र आफन्त आठ जनालाई शनिवार नै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिएको छ । रासस

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार १०:१२