सूचनाको शक्ति - The Power Of Information

        

एन्फामा विधान विपरित अवैधानिक समिति

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राहत र सहयोग वितरण गर्ने नाउँमा विधान विपरित अवैधानिक समिति बनाएको छ । गत बुधबार भिडियो कन्फरेन्सबाट एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रस्तावमा विधान बमोजिमको स्थायी समिति ‘सामाजिक उत्तरदायित्व समिति’लाई वेवास्त गरी राहत तथा सहयोग समन्वय समिति गठन गरिएको हो ।

राहत तथा सहयोग समन्वय समिति गठनबारे एन्फाले बुधबार एक विज्ञप्ति जारी गरि जानकारी गराएको थियोे । समितिले समस्या वा संकट पहिचान गरी आवश्यक राहत सहयोग गर्ने बताइएको छ । राहत तथा समन्वय समिति केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा बनाइएको छ भने समितिमा उत्तमकुमार भण्डारी र रूपेश अधिकारी सदस्य छन् । नवनिर्मित समितिको वैधानिकताबारे प्रश्न उठ्न थालेको छ ।

विधानमा नभएको समिति भिडियो कन्फरेन्सबाट सामाजिक उत्तरदायित्व समितिसमेतको अधिकार क्षेत्रलाई मिचेर बनाइएको छ । एन्फाको बिधानले भिडियो कन्फरेन्सबाट बैठक बस्न सकिनेबारे उल्लेख गरेको छैन । एन्फाको विधानको धारा ३७ बमोजिम कार्यसमिति बैठकको लागि सात दिनअघि नै सदस्यहरुलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ । औपचारिक बैठक नै नबसी समिति गठन गरेको र समितिको संयोजकमा विवादित व्यक्तिलाई चयन गरिएकोमा एन्फाभित्र अहिले असन्तुष्टी देखिएको छ ।

एन्फाका अध्यक्ष शेर्पाले अनौपचारिक छलफल भनी बोलाएको भिडियो कन्फरेन्सबाट औपचारिक समिति निर्माण गर्न प्रस्ताव गरी निर्णय गरेकोमा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङले भने असन्तुष्ट व्यक्त गरेका छन् । उनले सचिवालय र सामाजिक उत्तरदायित्व समिति हुँदा हुँदै यो अनौपचारिक बैठकबाट औपचारिक समिति गठन गर्न नहुने सुझाव दिदा समेत जबरजस्ती समिति गठन गरेको बताएका छन् । समितिका संयोजक श्रेष्ठ एन्फाको स्थायी समिति स्वास्थ्य समितिका संयोजक समेत हुन् । उनीलाई स्वास्थ्य समिति मार्फत आर्थिक अनियमितता गरेको आरोप समेत लागेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतवार ०७:११