सूचनाको शक्ति - The Power Of Information

        

भारतका ११ जिल्ला उच्च जोखिममा, न्युयोर्कको एउटै नर्सिङ होममा ९८ को मृत्यु

फाइल तस्वीर

नयाँदिल्ली । भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने जनाएका हुन् । ‘दिल्लीका ११ जिल्लालाई यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिनेछ,’ उनले भने ।

कुनै पनि जिल्लामा कोरोना भाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिए । केन्द्रीय स्वास्थ्यमन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकै दिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिए ।

उनका अनुसार देशभरका २८४ जिल्लालाई ‘ओरेन्ज जोन’ र ३१९ जिल्लालाई ‘ग्रिन जोन’ का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए । उनले भने, ‘अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।’

उनका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले संक्रमणमुक्त भइसकेका छन् । देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । दैनिकरुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।

न्युयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ‘यो अत्यन्त हृदय विदारक छ,अपूरणीय क्षति भएको छ,असम्भव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,’ न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने ।

एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै दुर्लभ घटना भएको उनले बताए । ती मृत्यु भएकामध्ये १३ जनाको त शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा जनाइएको छ । नर्सिङ होममा मृत्यु भएकाहरुको तत्काल अन्त्येष्टि पनि नगरिने भएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको छ । अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ ।

कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक धेरै रहेको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पर्दछ । शनिबार दिउँसोसम्मको विवरणअनुसार अमेरिकामा कूल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भइसकेका छन् । अमेरिकामा अहिले पनि देशभरी नौ लाख चार हजार १५३ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १४ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ७७७ रहेको छ । एपी/एएनआई

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १८:५५