सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा कोरोना परीक्षण सुस्त

बाँके । देशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ५९ जना पुग्दा शुक्रबार प्रदेश ५ बाट दुईजना थपिए । थपिएका दुई जनामध्ये एक जना नेपालगन्ज उपमहानगरपालिका महेन्द्र पार्कका ६० वर्षीय वृद्ध हुन् भने अर्का रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ का २५ वर्षीय युवक हुन् । नेपालगन्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ भने पुष्टी भइसकेको छैन ।

यद्यपी, स्थानीय प्रशासनले भने उनी एक महिना अघि भारतबाट आएर महेन्द्र बहुमुखी क्याम्पसमा तयार गरिएको क्वारेन्टाइनमा बसेको अनुमान गरेको छ । संक्रमितले आफू दुई महिनायता देश छाडेर बाहिर नगएको दाबी गरे पनि सो बारे थप पुष्टी हुन बाँकी छ । ती व्यक्ति सो क्वारेन्टाइनबाट भाग्नेमध्येका एक रहेको आशंका गरिएको छ । नेपालगन्जका संक्रमित मदरसामा पढाउने ‘मौलाना’ हुन् ।

ती संक्रमित डिएसपी रोडमा रहेको घरबाट एक किलोमिटर दूरीमा रहेको महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आवतजावत गर्ने गरेका थिए । त्यसैले उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको संख्या ठूलो हुनसक्ने स्थानीय प्रशासनले आंकलन गरेको छ । प्रहरीले बाँकेका चार जोखिमयुक्त क्षेत्रलाई सिल गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजीकार्य अर्थात् ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरू गरेको छ ।

उता रुपन्देहीका संक्रमित लकडाउनकै बेला गत वैशाख ५ गते भारतबाट बेलहिया नाका हुँदै आएका कोटहीमाई गाउँपालिकाले पुष्टि गरेको छ । कोटहीमाईका अनुसार भारतमा लकडाउन घोषणा भएपछि ती २५ वर्षीय युवा नयाँदिल्लीबाट हिँड्दै बेलहिया नाकासम्म आइपुगेका थिए । त्यहाँ आइपुगेपछि उनी लुकेर सिमाबाट नेपाल छिरेको खुलेको छ ।

तर, घर नपुग्दै उनलाई दाजुले मझगाँवास्थित क्वारेन्टाइनमा लगेका थिए । सो क्वारेन्टाइनमा उनीसँगै अन्य १६ जना बसेका थिए । संक्रमितमध्ये बाँकेका वृद्धको नेपालगन्जस्थित भेरी अस्पतालमा आरटी–पीसीआर विधिद्वारा ‘थ्रोट स्वाब’ नमूना परीक्षण गरिएको थियो भने रुपन्देहीका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परिक्षण गरिएकको थियो । संक्रमित दुवै जनालाई आइसोलेशनमा राखिएको छ ।

बल्ल देखिँदै संक्रमित

स्थानीय प्रशासनका अनुसार एक महिनाअघि भारतबाट फर्किएको अनुमान गरिएका नेपालगन्जका संक्रमित क्वारेन्टाइनमा बसेका थिएनन् । जिल्लास्थित धार्मिक स्थलहरूमा बस्नेलाई खोज्ने क्रममा उनको पनि स्वाब संकलन गरिएको थियो । बिहीबार स्थानीय मस्जिदमा बसेका ११ जनाको स्वाब परीक्षण गरिएकोमध्ये ती व्यक्तिमा मात्रै कोरोना पुष्टि भएको हो ।

उनी क्वारेन्टाइनमा समेत नबसेको हुँदा उनीबाट संक्रमण व्यापकरुपमा फैलिएको हुनसक्ने चिकित्सकहरूले बताएका छन् । रुपन्देहीका संक्रमितको गाउँपालिकाबाट फर्किएका स्वास्थ्यकर्मीको टोलीले बुधबारमात्रै उनको ‘थ्रोट स्वाब’ संकलन गरेको थियो । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये उनीसहित १० जनाको ‘थ्रोट स्वाब’ बुधबार संकलन गरिएको हो ।

बाँकी ६ जनाको स्वाब शुक्रबारमात्रै संकलन गरिएको थियो । तर, भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि प्रयोग हुने कीट सकिएपछि त्यहाँ परीक्षण गर्न भनी पर्खाइमा राखिएका अन्य १०८ वटा स्वाबको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । भारतबाट आएका भनिएका दुवै संक्रमितमा कोरोना परीक्षण समयमै हुन नसकेको देखिएको छ ।

कछुवा गतिमा परीक्षण

एकैपटकमा धेरै नमुनाको जाँच गर्न सकिने आरटी–पीसीआर उपकरण प्रदेशको तीन स्थानमा जडान गरिए पनि कीट अभाव हुँदा कोरोना परीक्षण भने चाहेजति हुन सकेको छैन । भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ‘आरएनए’ छुट्याउने उपकरण सकिएको छ । उपकरण अभाव भएपछि परीक्षणका क्रममा रहेका १०९ वटा स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रयोगशाला प्रमुख डा.राजेन्द्र गिरीले बताए ।

परीक्षण रोकिएपछि पश्चिम परासी, रूपन्देही र कपिलवस्तुमा संकलन गरिएका स्वाब पनि काठमाडौं पठाउन थालिएको हो । दाङ र नेपालगन्जमा पनि पोर्टेबल पीसीआर मेसिन जडान गरिएका छन् । यी मेसिनले दैनिक ९४ वटा स्वाब नमूना परीक्षण गर्न सक्ने क्षमता राख्छन् । तर, स्वाब संकलन गरेर प्रयोगशालासम्म पुर्याउने ‘भिटिएम’ र प्रोसेसीङ कीट अभावमा यहाँ परीक्षण दर निकै कम छ । भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रसन्न मिश्रले दैनिक १५० भन्दा धेरै स्वाब संकलन हुने गरे पनि कीट अभावमा परीक्षण दर बढाउन नसकिएको उनले बताए ।

भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिको संख्या अत्याधिक भएपनि चाहेजति कोरोना परीक्षण हुन नसक्दा कोरोना भए नभएको एकीन गरि क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाउन समेत कठिन भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले बताए । गत बिहीबारसम्मको तथ्यांक हेर्दा प्रदेशभर आरडिटीबाट चार हजार ३५ वटा नमुना र पिसिआर विधिबाट ५८९ जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । परीक्षण दर न्यून भएकै कारण स्वाब संकलन गरिए पनि थप ४४८ जनाको परीक्षण प्रक्रियामै रहेको छ ।

परीक्षण गर्नुपर्ने करिब सवा दुईलाख

प्रदेशमा तेस्रो मुलुकबाट फर्कनेको संख्या पनि धेरै छ । चैत १७ सम्ममा भारतका विभिन्न ३५ नाका हुँदै प्रदेश ५ मा दुई लाख ४४२ जना व्यक्ति छिरेका छन् । यी बाहेक चोरबाटो हुँदै कति आए भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग छैन । तर सामाजिक विकास मन्त्रालयले झण्डै १५ हजार जना आएको हुन सक्ने अनुमान गरेको छ । तर भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूको संख्याको तुलनामा प्रदेशले गरेको कोरोना परीक्षणदर निकै थोरै हो । जोखिम उस्तै भएपनि दैनिक औसतमा २०४ जनाको मात्रै कोरोना परीक्षण हुने गरेको छ ।

संघीय सरकारको सहयोगमा प्रदेशका सबै जिल्लामा चैत २७ देखि आरडिटी भइरहेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले परीक्षण गर्नुपर्ने संख्या धेरै भए पनि जनशक्ति र उपकरणको अभाव भएको बताए । उनले तीन वटै प्रयोगशालामा गरेर सरदर २० जनासम्मको दैनिक परीक्षण भइरहेको बताए । ‘तर, सामग्री र जनशक्ति अभावमा परीक्षणको गति बढाउन सकिएको छैन,’ उनले भने । बिहीबारसम्म प्रदेशभरका क्वारेन्टाइनमा ११ हजार ८९५ जना बसेका छन् । उनीहरूको पनि आरडिटी परीक्षण हुन नसकेको डा.गिरीले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १७:०२