सूचनाको शक्ति - The Power Of Information

        

मदरसामा पढाउँथे बाँकेका कोरोना संक्रमित

बाँके । शुक्रबार बाँकेमा कोरोना पुष्टि भएका ६० वर्षीय व्यक्ति मस्जिदमा पढाउने गुरू भएको खुलेको छ । उनी ‘मौलाना’ वा ‘इमाम’ रहेको स्थानीय प्रशासनले पुष्टि गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ डिएसपी रोड निवासी उनले रोजा सुरू हुनुभन्दा पहिला अर्थात् वैशाख १३ गते अघिसम्म स्थानीय मस्जिदहरूमा पढाउँदै आएका थिए ।

उनले पढाउने मस्जिद कुन थियो ? भन्ने कुरा भने खुलाइएको छैन । स्थानीय प्रशासनले बाँके जिल्लास्थित धार्मिक स्थलहरूमा बस्नेहरूलाई खोजेर स्वाब परीक्षण गर्ने क्रममा ६० वर्षीया संक्रमित भेटिएका हुन् । बिहीबार स्थानीय मस्जिदमा बस्ने मात्रै ११ जनाको स्वाब परीक्षण गरिएकाहरू मध्ये उनमा मात्रै कोरोना पुष्टि भएको हो । यो बीचमा बागेश्वरी मन्दिरमा बस्नेहरूको पनि स्वाब परीक्षण गरिएको छ ।

संक्रमित धर्मगुरू (मौलाना वा इमाम)ले भने विगत दुई महिनादेखि आफू नेपालगन्ज बाहिर नगएको दाबी गरेको स्रोतले बतायो । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले संक्रमित व्यक्ति यो बीचमा आफैं भारत नगए पनि मदरसामा पढ्न आउनेहरूका कारण उनलाई संक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरे ।

उनले बिरामीको अवस्था सामान्य रहेको र अहिले उनलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको कोरोना विशेष अस्पातलको आइसोलेनमा राखिएको छ । उनको अवस्था अहिलेसम्म सामान्य नै रहेको छ ।’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले हाल आफूहरू ती धर्म गुरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजीमा लागेको जानकारी दिए ।

उनले संक्रमित व्यक्तिले यो बीचमा रुपैडिहा आसपासबाहेक अन्यत्र नगएको भन्ने दाबी गरेको जानकारी दिए । यसबीच जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै औषधि पसलबाहेक सम्पूर्ण बजार बन्द गर्न निर्देशन गरेको छ । यसअघिसम्म नेपालगन्जमा बिहानदेखि बेलुका ४ बजेसम्म हरेक दिन लगभग सबै पसल खुल्ने गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १५:५०