सूचनाको शक्ति - The Power Of Information

        

बझाङका ९३ जना भारतको रामपुरमा ३५ दिनदेखि अलपत्र

लकडाउनका कारण भारतको रामपुरमा एक महिनादेखि रोकिएका थलारा गाउँपालिकाका नागरिकहरु ।

लकडाउनका कारण भारतको रामपुरमा एक महिनादेखि रोकिएका थलारा गाउँपालिकाका नागरिकहरु ।

बझाङ । बझाङको थलारा गाउँपालिका घर भएका ९३ जना भारतको रामपुरमा रोकिएका छन् । उनीहरु त्यहाँ रोकिएको ३६ दिन भएको जनाएको छ । त्यहाँ १३ जना महिलासहित अन्य बालबालिका बृद्धबृद्धा समेत छन् । क्यारेन्टाइनमै एक जना महिला दुई हप्ताअघि सुत्केरी भएकी पनि बुझिएको छ । भारतको विभिन्न क्षेत्रवाट घर आउनका लागि हिँडेका उनीहरु नेपाल भारत लकडाउन भएर आवतजावत बन्द गरेपछि त्यहाँ प्रहरीले रोकेको हो ।

रामपुरको एक सार्वजनिक घरमा बनाएको क्यारेन्टाइनमा राकेका उनीहरुलाई त्यहाँको प्रहरी प्रशासनले सामान्य पुरी खान दिए पनि बस्न खान साह्रै समस्या भएको त्यहाँबाट भरत थापाले जानकारी दिए । उनले भने, ‘हामीलाइ धेरै दुख भएको छ आइमाइ केटाकेटी छन्, खान बस्न छैन कहिले खुला के होला यस्तो के आइपर्यो भनेर सबैको मन रुएको छ । हाम्रो उद्धार गरि दिनुहोस् ।’ उनीहरुले शौचालयको पानी खाने गरेको खान बस्न र मानसिक तनावले धेरैको स्वास्थ्यमा समस्या देखिएको दुखेसो राखेका छन् ।

त्यहाँको प्रहरीले पनि अपमान गर्ने गरेको र प्रहरीले तिम्रो सरकारले उतैबाट नछोड्नु भनेकाले तिमीहरुलाई नछोडेको भन्ने गरेको पनि उनीहरुले वताएका छन् । त्यहाँ रोकिएका सबै थलारा गाँउपालिकाको दंगाजी पारा काट्ने र कोटभैरमा घर भएका मान्छेहरु हुन् । ‘यहाँको दुख समस्या धेरै छ,’ टेलीफोनमार्फत अम्मर थापाले भने, ‘सरकारले पहल गरेर हामी छिटो नेपाल आउन पाउँ ।’ भारतमा थप लकडाउन बढाएपछि उनीहरु झन् निरास भएका छन् ।

बैतडी र दार्चुला नाकामा रोकिएकाहरुलाई नेपाल जान दिएपछि रामपुरमा रोकिएकाहरुले पनि आफुहरुलाई नेपाल आउनका लागि पहल गरि दिन टेलिफोन फेसबुकमार्फत नेपाल सरकार जनप्रतिनिधि अगुवाहरु सबैलाई आग्रह अनुरोध गर्दै आएका छन् । थलाराका रामपुरमा रोकिएकाहरुले थलाराका जनप्रतिनिधिहरुले आफुहरु नेपाल फिर्ता गर्नका लागि कुनै पहल चासो नगरी दिएको दुखेसो राखेका छन् । थापाले भने, ‘स्थानीय जनप्रतिनधिहरुसँग धेरैपटक फोन गरेर समस्या दर्शाए पनि सुनुवाइ गरिदिएन ।’

थलाराका स्थानीय काँग्रेसका नेताद्वय मानबहादुर कडायत र सुर्यप्रकास जोशीले आफुरुले पनि पहल गरिरहेको बताए । तर स्थानीय सरकारवाटै पहल कम भएकाले उनीहरुले आउन सकेका छैनन् । रोकिएका मान्छेहरुले पत्रकार तथा मानव अधिकारकर्मीहरुलाई पनि नेपाल आउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । यता भारतको धार्चुला झुलाघाटमा रोकिएका आफ्ना मान्छेहरु नेपाल ल्याउन सफल भएका बझाडको बुगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले आफुले एक महिनादेखिको पहलमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर ल्याउन सफल भएको बताए ।

उनले कन्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग थलारा गाँउपालिकाका अध्यक्षले समन्वय गरेर रामपुरमा रोकिएका नेपालीलाई ल्याउन सकिने उपाय बताए । थलारामा रोकिएका नेपालीलाई नेपाल ल्याउन सम्वन्धीत निकायसँग समन्वय भइरहेको थलारा गाँउपालिका अध्यक्ष भुबनेश्वर उपाध्ययाले बताए । काठमाडांै रहेका बझाडका पूर्व बनमन्त्री भानुभक्त जोशीले पनि रामपुर र बनवासामा रोकिएका नेपालीहरुलाई स्वदेश ल्याउन पहल भइरहेको बताए । यसअघि भारतमा रोकिएका दार्चुला र झुलाघाट नाकाबाट बझाड ल्याएका सबैलाई क्यारेन्टाइममा राखिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १५:१६