सूचनाको शक्ति - The Power Of Information

        

नुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ ?

फाइल तस्वीर

जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन ।

यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् ।

बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २०० क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १०० क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन । यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्ने नुनको मूल्य बारेकोटमा प्रतिकेजी ६० रुपैयाँ रहेको पाइएको छ ।

सदरमुकाममा प्रतिकेजी रु नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा रु ६० मा किनबेच भइरहेको छ । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी रु नौमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् ।

लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ ।

बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैयाँ र माथिल्लो भेगतिर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ । सदरमुकाममा ९ रुपैयाँमा एक पोका पाइने नुन बारेकोटमा सातगुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताए ।

नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १४:५४