सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका चार स्थान सिल, कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोज्दै प्रशासन

बाँके । बाँकेको नेपालगन्जमा भेटिएका कोरोना संक्रमितलाई भर्ना गर्न आइसोलेशन अस्पताल खजुरामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले शुक्रवार तीन बजे दिएको जानकारी अनुसार, संक्रमित व्यक्तिलाई स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर खजुरा लगिएको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार, शुक्रवार ती व्यक्तिलाई आइसोलेशनमा भर्ना गरिएको थियो । ती व्यक्तिको ‘ट्राभल हिस्ट्री’ खोज्न शुरु गरिएको उनले बताए । नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलनमध्ये एकजनामा कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ ।

नेपालगन्जका डिएसपी रोड, वडा नं. ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।

उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ । नेपालगन्ज धम्बोझीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् ।

उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ । कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रहरीले यहाँका मस्जिद, मन्दिर लगायतका धार्मीक संस्थाहरुमा निगरानी बढाएको छ । प्रहरीका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १८:३१