सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा कोरोना संक्रमित दुई भारतीयसँगै काम गरेका सबै नेपाली सुरक्षित

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । भारत फर्किएपछि कोरोना संक्रमित देखिएका दुई भारतीयसँग त्यसअघि बर्दियास्थित एक क्रसर उद्योगमा काम गरेका सबै नेपाली सुरक्षित पाइएका छन् । बर्दियाको कोठियाघाटस्थित क्रसर उद्योगमा ती भारतीयसँग काम गरेका ११ सहित उनीहरूसँग सम्पर्क गरेका अर्का व्यक्तिसमेत गरेर १२ जनाकै स्वाब पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएका हुन् ।

‘हामीले ती २ भारतीयसँग क्रसर उद्योगमा काम गरेका ११ जना र उनीहरूसँग आउजाउ गरेका अर्का एक व्यक्तिसमेत गरी १२ जनाको पटकपटक गरी पीसीआर परीक्षण गरायौं,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘हिजोसम्ममा सबैको रिपोर्ट आयो, नेगेटिभ आयो, सबै सुरक्षित रहेछन् ।’ उल्लिखित क्रसर उद्योगमा काम गरेका दुई भारतीय मजदुर आफ्नो देश भारत पुगेपछि कोरोना संक्रमण पुष्टि भएका थिए ।

त्यसको जानकारी भारतीय प्रहरीले नेपाली पक्षलाई पत्र पठाएर दिएपछि ती भारतीय नेपाल रहँदा उनीहरूसँग काम गरेका सबै नेपालीलाई क्वारेन्टिनमा राखेर उच्च सतर्कता अपनाएको थियो । प्रजिअ लामिछानेका अनुसार क्रसर उद्योगमा नेपालीसँग काम गर्ने ५ भारतीय सीमा नाका बन्द हुँदाहुँदै पनि भागेर यही वैशाख ५ गते भारतको उत्तर प्रदेशस्थित बहराइच फर्किएका थिए ।

त्यहाँको अस्पतालमा परीक्षण गर्दा तीमध्ये २ जनामा कोरोना पुष्टि भएको हो । ‘तर ती भारतीयलाई यहाँ नेपालमा रहँदा कोरोना संक्रमण भएको नभई उतै (भारत) गइसकेपछि संक्रमण भएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘हाम्रो रिपोर्टले त्यस्तै देखायो ।’ लकडाउनयता मात्रै भारतलगायत विभिन्न देशबाट १४ हजार मानिस बर्दिया जिल्लामा भित्रिएका छन् ।

प्रजिअ लामिछानेका अनुसार तीमध्ये अहिले ३५ सय मानिस क्वारेन्टिनमा छन्। ‘अहिलेसम्म हामीले साढे ६०० जनाको आरडीटी चेक गराइसक्यौं, सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘पीसीआर परीक्षण गरिएका १४८ जनामध्ये १२९ जनाको रिपोर्ट आइसकेको छ, जुन सबै नेगेटिभ छन् ।’ अब १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ लामिछानेले बताए । साथै आजमात्रै थप ११ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १७:१३