सूचनाको शक्ति - The Power Of Information

        

घर पुगे महाकाली पारि अलपत्र परेका बझाङी

बझाङ । नेपाल र भारत दुबै देशमा लकडाउन भए पछि बैतडीको भफुलाघाट र दार्चुलाको महाकाली पारि रोकिएका नेपालीहरुलाई विहिबार नेपाल प्रवेश गराएपछि सम्बन्धीत स्थानीय तहका प्रमुखहरुले बुझेर ल्याएका छन् ।

महाकाली पारिका नेपालीहरु वारि आए पछि बझाङ स्थित आ­आफ्ना स्थानीयतहमा रहेका मानिसहरुलाई जनप्रतिनिधीहरु बस रिर्जब गरेर बझाङ ल्याईएको हो । बझाङको बुंगल नगरपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका केदारस्यूँ गाउँपालिकामा रहेका स्थानीयहरुलाई उद्धार गरि ल्याइएको हो ।

बुंगल नगरपालिका, बित्थडचिर गाउँपालिका, केदारस्यूँ गाउँपालिकाका प्रमुखहरु एक सातादेखि दार्चुला र बैतडीमा कुरेर बसेका थिए । स्थानीय तहका प्रमुखहरुले बैतडीको झुलाघाट नाका र दार्चुलाबाट बसको ब्यवस्था मिलाई आफ्ना स्थानीय तहहरुका मान्छेहरुलाई शुक्रबार गाउँ लिएर आएका हुन् ।

‘महाकालीपारि भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरु केन्द्र सरकारको पहलमा नेपाल छोड्ने जानकारी पाएपछि म बैतडी सिमानामा आएको थिए,’ बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले भने, ‘नगरपालिकाको लागानीमा ५ वटा बस रिजर्व गरेर हाम्रो स्थानीय तह भित्रका नाकामा फसेका स्थानीयहरुलाई ल्याएका हौ ।’

त्यस्तै जिल्लाको बित्थडचिर गाउँपालिकाका १०० जना, बुंगल नगरपालिकाका ३७४ जना, केदास्यू गाउँपालिकाका २१ जना, सुर्मा गाउँपालिकाका ६ जना गरि ५०६ जनालाई उद्धार गरि ल्याइएको हो । उद्धार गरि ल्याइएका सबै जनालाई स्वास्थ्य परिक्षण गरि १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ । यसअघि ६२ जना क्वारेन्टाइनमा रहेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १६:४९