बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–१० ले यहाँका स्थानीय बासिन्दाहरुलाई घरघरमै पुगेर स्वास्थ्य उपचार साथै औषधि वितरण गरेको छ । लकडाउनको समयमा विरामी हुँदासमेत बाहिर निश्कन नपाउने भएपछि स्थानीयबासीलाई समस्या भएको महसुस गरि यस्तो सेवा दिएको हो ।
वडाध्यक्ष दलबहादुर विष्टको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली घर आगनमा पुगेको थियो । टोलीले वडाभित्र रहेका दम्दुर, खैरा, चैनपुर, कुलालीगाँउ, कुचा, मादुकात्ने लगायतका गाँउबस्तीमा स्वास्थ्य उपचारसहित गाउँलेहरुको अवस्था बुझेको हो । टोलीमा जनप्रतिनिधीहरु, स्वास्थ्यकर्मी, महिला स्वयंसेविकासहित अन्य स्वयंसेवकहरु रहेका थिए ।
गाउँगाउँमा टोलीले उपचारका साथै कोरोना रोगथामका लागि सचेतना जगाएको थियो । पखाला लागेर तीन दिनदेखि घरबाट आउन नसकेका पाडेशैन घर भएका जंगबहादुर बुढाको घरमै गएर उपचार गरेको चैनपुर स्वास्थ्य चौकीका प्रमुख ललीतकुमार खत्रीले बताए । उनीजस्तै पाडेशैनका अन्य गम्भीर तीन जना विरामीको उपचार गरिएको छ ।
स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमा रहेका बालबालीका गर्भवती महिला, दमका रोगीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गर्नुका साथै कोरोनाबाट सचेत हुन विभिन्न उपाय तथा परार्मस दिइएको छ । महिला स्वास्थ्य स्वयंसेविका विष्ण कुवरले लकडाउनको यो समयमा गम्भीर विरामीबाहेक सामान्य विरामीहरु स्वास्थ्य संस्था तथा अस्पताल नपठाउने र लकडाउनका कारण जान नसक्ने भएपछि गाउँमै उपचार गरिएको हो ।
लकडाउनको यो समयमा कहीकतै जाने अवस्था नभएकाले गाउँलेहरुको दुखसुख र समस्या बुझ्न यसरी स्वास्थ्यकर्मी र जनप्रतिनिधि आउँदा आफुहरुलाई ठुलो सहारा भएको स्थानीय हंशुदेवी पालले बताइन् । वडाको टोलीले गाँउगाँउमा आएर खाद्यान्न अभाव भएको परिवारलाई खाद्यान्न तथा नुन, तेल, चामल, आटोसंगै स्वास्थ्य सामाग्री साबुन, मास्क, आदीसमेत वितरण गरेको छ ।
सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागी वडावडामा एकिकृत समुह परिचालन गर्ने परिपत्र अनुसार आफुहरु स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित गाउँबस्तीमा पुगेर सेवा प्रवाह गरेको वडाध्यक्ष विष्टले बताए । उनले टोलीले गाउँलेहरुको गुनासो बुझेरसमस्याहरु पहिचान गरी सहयोग गर्दै आएको बताए । घरमै सेवा पाएपछि सिंह दरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति भएको स्थानीयले बताएका छन् ।
सत्यराज सिंह ।