बाँके । पानी नभएकाले बाँके राष्ट्रिय निकुञ्जका जनावरलाई समस्या छ । बाघ बस्ने क्षेत्र विस्तार गर्न १० बर्षअघि बनाइएको राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुगेको छ । निकुञ्जमा जङ्गली हात्ती पनि आउने गर्छन् । उनीहरुलाई पानी पिउनका लागि खोला, ताल, पोखरी र सिमसार भने छैनन् ।
वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा गरिने भए पनि खडेरीको समयमा पानीको चरम अभाव हुनेगर्छ । पानी अभावमा वन्यजन्तु मात्र नभइ वनस्पति प्रजाती पनि सुक्न थालेका छन् । निकुञ्जमा पर्याप्त पानी नहुँदा घाँस उत्पादन लगायत बाघको आहारा प्रजाती चित्तल, चौका, जरायो समेत संकटमा परेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई पौडिन मात्रै नभएर त्यहाँ पिउने पानीकै समस्या रहेको बताउँछन् । पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षतिसँगै जनावर मारिने गरेको भट्टराई बताउँछन् । निकुञ्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नील गाई, चितुवा, भालु लगायतका जनावर छन् ।
पौडी नखेल्ने जनावरलाई पनि पिउने पानी पर्याप्त चाहिन्छ । तर, ५५० वर्गकिलोमिटरको निकुञ्जमा ७० वटा कृत्रिम पानीका पोखरी निर्माण भएका छन् । ती मध्ये झण्डै ४० वटा पोखरीमा पानी छैन । केही पोखरीमा ट्रयाक्टरको माध्यमबाट पानी ओसार्ने गरेको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
उनका अनुसार पानीको अभाव कम गर्न निकुञ्जको खेरी, गोठेरी र गन्धेलीमा तीन वटा डिप बोरिङ्ग पनि सञ्चालनमा ल्याइएको छ । यसले केही राहत भएको छ । बर्षा भएको समयमा पोखरीमा केही पानी जम्ने गरेको भए पनि खडेरी सुरु भएसँगै पानी सुक्ने हुँदा बन्यजन्तुलाई पानीको अभाव टार्न मुस्किल भइरहेको उनको भनाई छ ।
निकुञ्ज भएर बग्ने सिक्टा सिँचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेको निकुञ्जले जनाएको छ । प्रमुख संरक्षण अधिकृत भट्टराई जनावरले पानी पिउन सक्ने संरचना नहरमा बनाउन निकुञ्जले सिंचाइ आयोजनासँग मिलेर अध्ययन गरिरहेको बताउँछन् ।
पानी खोज्न गाउँ पुगेका कैयौं चित्तल मानिसको आक्रमणले घाइते भएको पनि उनको भनाइ छ । राप्ती नदीको केही भाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ भने निकुञ्जको सीमामा बबई नदी छ । बबईमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ । निकुञ्जभित्र खहरे खोलाहरू मात्र रहेकाले पानीको अरू स्रोत देखिंदैन ।
निकुञ्जका अनुसार करिब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ । वर्षायाममा बाहेक अन्य सिजनमा पनि पानीको अभाव हुने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भेटिए पनि जनावरको उपस्थिति नहुने भएकाले समस्या छ । अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जमा खानेपानीको भरपर्दो स्रोत नहुँदा सुख्खायाम सुरु भएसँगै वन्यजन्तुका लागि पानीको समस्या चुलिँदै जाने गर्छ । निकुञ्जले वन्यजन्तुको खानेपानी सुविधाका निर्माण गरेका तीन वटा पोखरी सुकेका छन् भने अन्य पोखरीमा पानीको मात्रा घट्दै जान थालेको छ । वन्यजन्तुको मृत्यु हुने कारणमा पानीको अभाव पनि रहेको निकुञ्जका कर्मचारीहरुको भनाई छ ।
प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, ‘प्राकृतिकरुपमा रहेका पानीका मुहानको पानी भण्डारण गरी पोखरी निर्माण गरिएको हो । तर पानीको पर्याप्त स्रोत नहुँदा अधिकांश पोखरी सुकिसकेका छन् । अन्यमा पनि पानीको सतह घट्दै गएको छ । पानीका लागि राजमार्ग क्षेत्र छिचोलेर वन्यजन्तुहरू राप्ती नदीमा जाँदा दुर्घटनामा परी मर्ने गरेका छन् ।’
वर्षामा उर्लने खहरे खोलाहरूमा हिउँदमा पानी हुँदैन । ‘हामीले कृतिम रुपमा पानी आपूर्ति गर्न विभिन्न प्रयास गरेका छौं तर त्यो पर्याप्त हुन सकेको छैन,’ भट्टराईले भने । बाँके निकुञ्ज सुख्खा क्षेत्र भएकाले माघदेखि जेठ महिनासम्म वन्यजन्तुलाई पानीको अत्याधिक समस्या हुने गरेको उनको भनाई छ । चुरेभावर क्षेत्र भएकाले पनि यहाँ पानीको अभाव छ ।
निकुञ्ज क्षेत्रमा ७५ किलोमिटर राजमार्ग रहेको र पानी पिउन राजमार्ग हुँदै राप्ती नदीमा पुग्ने वन्यजन्तुको सडक दुर्घटनामा परेर मृत्यु हुन्छ । आर्थिक वर्ष २०७४/०७५ मा ७२ वटा, आव २०७५/०७६ मा ६५ वटा र चालु आवको हालसम्म ४० वन्यजन्तुको मृत्यु भएको छ । लकडाउनकै अवधिमा पनि सडक दुर्घटनामा परेर दुई वटा वन्यजन्तुको मृत्यु भएको छ ।
पानीकै समस्याले वन्यजन्तुहरु मध्यवर्ती क्षेत्रमा पस्ने र स्थानीयको अन्नबालीमा क्षति पुर्याउँदै आएका छन् । उनले भने, ‘वनस्पति, आहारा प्रजातीलगायत बाघका लागि पानीको टट्कारो समस्या छ । राप्ती नदीमा स्थायी पानी भए पनि वन्यजन्तुलाई राजमार्ग क्रस गरेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सम्भावना रहन्छ ।’
पानी अभाव हुँदा बाघको आहारामा समेत कमी आउने भट्टराईले बताए । कृतिम पोखरी निर्माण गरेर पानी जम्मा गर्ने प्रयास सुरु गरिएको भए पनि त्यो पर्याप्त नभएकाले यसका लागि दीर्घकालिन योजना जरुरी रहेको उनको भनाई छ । सिमसार संरक्षण गर्ने तथा वर्षाको आकाशे र खहरे खोलाको पानी जोगाउनेतर्फ सोच्नुपर्ने देखिन्छ ।
सत्यपाटी ।