बाँके । बन्दाबन्दीपछि नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले उच्च निगरानी बढाएको छ । सरकारले सीमाक्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा प्रतिबन्ध गर्ने निर्देशनपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको हो । भारतीय सीमा क्षेत्रसँंग जोडिएको प्रदेश नं ५ का जिल्लामा पनि सशस्त्र प्रहरी बल परिचालन भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
यस प्रदेशमा करीब ७ हजार सशस्त्र प्रहरी बल परिचालन भएको बताउँदै सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सीमा क्षेत्रमा करीब ३५० जाँचचौकी स्थापना गरिएको जानकारी दिए । ‘प्रदेश ५ मा प्रदेश सरकार र स्थानीय सरकारसँगको समन्वयमा सशस्त्र प्रहरी बल बन्दाबन्दीलाई पूर्णरुपमा कार्यान्वयनमा खटिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
सीमाक्षेत्रमा अस्थायी चौकी निर्माण गरी बलले सुरक्षा दिनाका साथै नियमित मोटर पेट्रोलिङसमेत गरिरहेको छ । कोभिड–१९ को लडाइँमा सशस्त्र प्रहरीले सीमा क्षेत्रदेखि गाउँगाउँसम्म पुगेर जनतालाई सचेतना दिलाउँदै सरकारले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गरेको प्रदेश ५ सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म सूचना शाखाले जनाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला भारतीय सीमासँंग जोडिएकाले यस क्षेत्रमा मानिसको आवतजावत पूर्णरुपमा रोक्ने काम पनि सशस्त्र प्रहरीले गरिरहेको ३८ गुल्मले जनाएको छ । खुला सीमाका कारण चोरी, तस्करी तथा सीमा अपराधले बढावा पाएको नेपाल–भारत सीमा क्षेत्रमा अहिले व्यापकरुपमा बल परिचालन भएपछि नियन्त्रण भएको छ । सीमाक्षेत्रमा हाल खटिएका सशस्त्र प्रहरी बललाई निरन्तरता दिनुपर्ने स्थानीवासीको माग छ ।
उनीहरुलाई प्राविधिकरुपमा समेत सक्षम बनाएर सधैँका लागि सीमामा खटाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । रुपन्देही सीमाक्षेत्रका बासिन्दा रमेश थापा अब सशस्त्र प्रहरीलाई अहिले जस्तै व्यवस्था गरी सीमा क्षेत्रमा खटाइनुपर्ने सुझाव दिन्छन् । कोरोना भाइरसको उच्च जोखिममा रहेको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उच्च निगरानी राख्न थालेपछि सीमाक्षेत्र आसपासमा बसोबास गर्ने नागरिकहरुले समेत खुशी व्यक्त गरेका छन् ।
सत्यपाटी ।