बाँके । बन्दाबन्दी (लकडाउन)का कारण नेपालगन्जको फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा बस्न बाध्य भएका धर्मगुरू, शिक्षक र बिधार्थीहरूको कोरोना (कोभिड–१९) परिक्षणका लागि स्वाब लिइएको छ । स्थानीय प्रशासनले बाँकेमा रहेका धार्मिक संस्थाहरुको अनुगमनपछि उनीहरुको स्वाव संकलन सुरु गरेको हो ।
अन्तरधार्मिक समाजिक सद्भाव समिति, मुस्लिम आयोग अनुगमन समितिको सहभागितामा मंगलबार फुलटेक्रामा रहेको फैजाने मदिना मस्जिद र मदरसामा रहेका मौलाना, शिक्षक र विद्यार्थी गरी १० जनाको स्वाब संकलन गरिएको हो । पिसिआर प्रबिधिबाट कोरोना परीक्षणको लागि स्वाव परिक्षण गरिएको नेपालगन्ज–४ का वडाध्यक्ष सफिक बेहनाले बताए ।
उनले सबै धर्म र सम्प्रदायका अगुवाहरुको सहभागितामा जिल्लाका सबै धर्मका धार्मिकस्थलको अनुगमन र त्यहाँ आश्रय लिएर बसेकाहरुको स्वाव संकलन गरी कोरोना जाँच गर्ने निर्णय अनुसार बाँकेमा पनि सुरु गरिएको बताए । उनले बाँकेमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिको अगुवाईमा सबै धर्मका धार्मिक संस्थाको अनुगमन र त्यहाँ बस्नेहरुको कोरोना परिक्षण गर्ने कार्यको सुरुवात गरिएको बताए ।
सो अवसरमा अनुगमन समितिका संयोजक तथा संविधानसभा सदस्य अब्दुल हमीद सिद्धिकि, नेपालगन्जका नगर प्रमुख डा.धवलसम्शेर राणा, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँकेका प्रहरी प्रमूख एवं उपरीक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, हिन्दू धर्मगुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरी, इसाई धर्मगुरु, बौद्ध धर्मगुरु, नेपाल हज समितिका सदस्य एंव अनुगमन समितिका सदस्य मेराज अहमद हिमालय, शाहिदा बानो शाह लगायतको उपस्थिति रहेको थियो ।
सत्यपाटी ।