सूचनाको शक्ति - The Power Of Information

        

कोरोना परीक्षण गर्न निजी प्रयोगशालालाई अनुमति

काठमाडौं । सरकारले निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड–१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी अनुमति दिएको छ । सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । नेपालमा संक्रमितको संख्या ५२ रहेको छ । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् ।

यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १–१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताए । कोरोनालाई दोस्रो चरणमा नै सीमित राख्न लकडाउनको पूर्ण पालना र क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको नमुना परीक्षण गरिएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५४५ र प्रदेश नम्बर २ मा ५ हजार २०८ वटा परीक्षण भएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा ७ हजार ६२६ वटा, गण्डकी प्रदेशमा ४ हजार ९२४, प्रदेश नम्बर ५ मा ३ हजार ४७१ र कर्णाली प्रदेशमा ५ हजार १२८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । अहिले २० हजार १९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १६ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १९:०३