सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी प्रधान कार्यालयले दियो सांसद अपहरणको जाहेरी दर्ता गर्न निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सांसद डा.सुरेन्द्र यादव अपहरणको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ । प्रहरीले आइतबार सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले अपहरणजस्तो गम्भीर मुद्धामा अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयले कानुन अनुसार रितपूर्वक आएको जाहेरी दर्ता गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको हो । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई जोहरी दर्ता गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको प्रवक्ता शाहीले बताए ।

उनका अनुसार स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा कारवाही अगाडि बढ्नेछ । सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरु आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए । तर, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले महोत्तरी जान सुझाव दिएका थिए ।

पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए । उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यादवले आफूलाई ज्यान मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् । सांसद अपहरण प्रकरणले यतिबेला राजनीतिक वृत्त चर्चामा रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १५:५५