सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन झन कडा, पासविनाका सवारी आवतजावतमा रोक

काठमाडौं । ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारीसाधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

बीचबाटोमा पुगेका र विचल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उद्धारका लागि साँझको समयमा केहीदिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृह मन्त्रालयको ठहर छ । त्यसैले मन्त्रालयले आजदेखि पासविनाका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाउन भनेको हो ।

हुलमूलका साथ सवारी साधनमा यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म लम्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ ।

यसैबीच विराटनगरबाट १६० यात्रु लिएर राजधानी आएका केही बस नागढुंगाबाट फिर्ता गरिएको छ । थानकोट प्रहरीका अनुसार गृहमन्त्रालयले कुनै पनि सवारीसाधन भित्रिन नदिन निर्देशन दिएपछि बिराटनगरबाट १६० यात्रु लिएर आएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १५:३१