सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा उपचार नपाएर बितेका नेपालीको कथा, ‘कोरोनाले मर्दिन भन्थ्यौ साथी’

काठमाडौं । अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँ, जहाँ संसारकै ठूला अस्पताल, उत्कृष्ट चिकित्सक र स्वास्थ्य सुविधाहरु छन् । त्यही अमेरिकामा आज मानिसहरुले उपचार नपाएर मर्ने अवस्था आएको छ, कोरोनाको महामारीले गर्दा । गत १५ अप्रिलमा न्यूयोर्कमा एक नेपाली युवाको आफू बसेको अपार्टमेन्टमै मृत्यु भयो । करिब एक महिना अगाडिदेखि कोरोना संक्रमण भएका उनी बारम्बार प्रयास गर्दा पनि अस्पताल भर्ना हुन सकेनन् ।

अघिल्लो दिन घरमै आएको एम्बुलेन्सले पनि उनलाई अस्पताल लैजान मानेन । भोलिपल्ट बिहान उनी मृत भेटिए । सोही अपार्टमेन्टमा उनका ‘रुम मेट’ थिए बुटबलका युवक सरगम भट्टराई । उनी पवनले भोगेको पीडाका प्रत्यक्षदर्शी मात्रै थिएनन्, जोखिम मोलेर उनलाई स्याहारेका समेत थिए । केही दिनअघि मात्रै नेपालमा आफ्नी आमा गुमाएको आलो पीडालाई बिर्सेर उनले पवनलाई हरतरहले सहयोग गरे ।

तर, उपचार नपाएपछि साथीको माया र स्याहारले मात्रै पवनको जीवन जोगिएन । राति खाना खुवाएर सुतेको साथी बिहान मृत अवस्थामा भेटिँदा सरगमलाई कस्तो भयो होला ? कल्पना मात्रै गर्न सकिन्छ । अहिले त उनी आफैं कोरोना संक्रमित छन् । भट्टराईले अनलाइनखबरका चिरञ्जीवी पौडेलसँग आफ्नो जीवनकै कहालीलाग्दो अनुभूति यसरी साटे :

सरगम भट्टराई

कोरोनाको ‘हट स्पट’ न्यूयोर्क, जहाँ एउटा अपार्टमेन्टमा म बस्छु । १० दिन अगाडिसम्म पवन मल्ल मेरो ‘रुम मेट’ थियो । तर, अहिले छैन । ऊ अब मेरो स्मृतिमा मात्रै छ । मेरी दिवंगत आमाबाट मैले सिकेको एउटा शिक्षा हो, आपतमा परेकालाई सहयोग गर्ने । गरिब र दिनदुःखीहरुलाई सेवा गर्न आमालाई औधी खुशी मिल्थ्यो । मान्छे मात्र होइन, पशुपन्छीहरुलाई पनि उहाँ उत्तिकै माया गर्नुहुन्थ्यो ।

आमाको यही गुणको एक अंश सायद ममा सरेको रहेछ । यही भावनाले गर्दा मैले पवनलाई कोरोना संक्रमण भइसकेपछि पनि उसको साथ छोड्न सकिनँ । आफूले सकेको स्याहार गरेर राखेँ । ४४ दिन अगाडि मैले आफ्नी आमालाई गुमाएँ । ७२ वर्षकी आमा नेपालमा बित्नुहुँदा मैले उहाँलाई दागबत्ती दिन पाइनँ । कोरोनाको त्रासका कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द भइसकेकाले अमेरिकाबाट नेपाल जान सम्भव थिएन ।

यही बिरानो भूमिमा १३ दिनसम्म आफूले सक्दो क्रियाकर्म गरेर मैले आमालाई श्रद्धान्जली दिएँ । उहाँको सम्झनामा बगाएको आँशु ओभाएकै थिएनन्, अर्को विपत्ति आइर्पयो । धेरै भएको थिएन मैले पवनलाई चिनेको । न्यूयोर्कमा अपार्टमेन्ट निकै महंगा छन् । धेरै नेपालीहरु ४–५ जनाले रुम सेयर गरेर बस्छन् । मेरो अपार्टमेन्टमा पनि कोठा खाली भएपछि मैले उसलाई ‘रुम मेट’ का रुपमा स्वागत गरेको थिएँ ।

पवन फेसबुकबाट मेरो सम्पर्कमा आएको हो । फेसबुकमा न्यूयोर्कका नेपालीहरुको एउटा ग्रुप छ । त्यसमा मैले ‘रुम मेट’ चाहिएको भनेर विज्ञापन गरेको थिएँ । ८–१० जना सम्पर्कमा आउनुभएको थियो । खोइ, किन हो मैले पवनलाई रोजेँ । त्यसबेला थाहा थिएन, हाम्रो साथ यति छोटो होला भनेर । अमेरिकामा कोरोनाले महामारीको रुप लिएसँगै म आफ्नो काम छोडेर होम क्वारेन्टाइनमा बस्न थालेँ । पवन एउटा डेलिभरी कम्पनीमा काम गर्दथ्यो ।

१५ मार्चदेखि उसको कम्पनी पनि बन्द भयो र घरमै बस्न थाल्यो । यद्यपि, विभिन्न घरायसी सामानहरु किन्न बाहिर निस्किरहनु पर्दथ्यो । मसित बस्न थालेको केही दिनदेखि नै पवनलाई कोरोना संक्रमणका लक्षण देखिन थाल्यो । सुरुमा सुख्खा खोकी लाग्यो । यसलाई उसले त्यति गम्भिररुपमा लिएन । तर, केही दिनमा अन्य लक्षणहरु थपिए । ज्वरो आउन थालेपछि ऊ अलिकति डरायो । ज्वरो अचानक बढ्ने र घट्ने हुन्थ्यो । समय–समयमा पखाला पनि लाग्थ्यो ।

त्यसबेला न्यूयोकमा ज्वरोको औषधिसमेत पाउन गाह्रो भएको थियो । मास्क, सेनिटाइजर, थर्मो्मिटर सबैको अभाव थियो । प्यारामेडिक्स एम्बुलेन्सचाहिँ तत्काल उपलब्ध हुन्थ्यो । अहिले पनि हुन्छ । ९११ मा फोन गर्दा १०–१५ मिनेटमा एम्बुलेन्स आइपुग्छ । एम्बुलेन्समा स्टाफ नर्स सरहका स्वास्थ्यकर्मी र स्वास्थ्य जाँच गर्ने सामान्य उपकरण उपलब्ध हुन्छन् । पवनले २ अप्रिलमा आफैंले फोन गरेर एम्बुलेन्स बोलायो ।

१० मिनेटमै एम्बुलेन्स अपार्टमेन्टमा आयो । स्वास्थ्यकर्मीले पवनको ज्वरो, प्रेसर जाँचे । धेरै गम्भिर बिरामीहरु देखेका उनीहरुले पवनको अवस्थालाई सामान्य ठाने । ऊ राम्ररी बोल्न सक्ने अवस्थामा थियो त्यसबेला । स्वास्थ्यकर्मीहरु उसलाई क्वारेन्टाउनमा बस्न र तातोपानी पिउन सुझाव दिएर फर्किए । तर, पनि हामी ढुक्क हुन सकेनौं । मैले उसलाई अस्पताल नै जान सुझाव दिएँ ।

पवनलाई पनि कम्तिमा कोरोना परीक्षण गर्न पाए आश्वस्त हुन सकिन्थ्यो लागेको थियो । त्यसैले एम्बुलेन्स आएको भोलिपल्ट ३ अप्रिलमा ऊ अपार्टमेन्टबाट हिँडेरै अस्पताल गयो । एल्महर्स्ट अस्पिटल हाम्रो अपार्टमेन्टबाट करिब डेढ किलोमिटर दुरीमा छ । न्यूयोर्कमा अहिले बिरामी यति बढेका छन् कि अस्पतालमा सामान्य चेकअपका लागि पनि निश्चित प्रोटोकल पार गर्नुपर्छ । मामुली लक्षण देखिँदैमा तुरुन्त परीक्षण गराउन सकिने स्थिति छैन ।

अस्पतालमा भर्ना हुन त झनै महाभारत छ । अक्सिजन वा भेन्टिलेटर चाहिने अवस्थाका विरामीलाई मात्रै भर्ना लिइन्छ । बिरामीको उमेर र रोग प्रतिरोधात्मक क्षमता पनि हेरिन्छ । पवनको एउटा खराब आदत थियो, रक्सी अत्यधिक खाने । दैनिक तीन बोतल (यहाँको बोतल नेपालको भन्दा आधा सानो हुन्छ) वियर रित्याउथ्यो । यसैगरी सुगरको सामान्य समस्या पनि उसलाई थियो । संक्रमण देखिएपछि भने उसले रक्सी खान छोड्यो ।

पवनले ६ घन्टासम्म पालो पर्खेर निकै जिद्दी गरेपछि बल्लतल्ल परीक्षणको मौका पाएछ । उसको परीक्षण रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखियो । जे डर थियो त्यही भयो । तर, पनि कडा लक्षण नभएको भनेर अस्पतालले भर्ना लिएन । होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर फर्कायो । ऊ हिँडेरै अपार्टमेन्ट फर्कियो । पवनको आत्मबल बलियो थियो । ‘ढुक्क हुनुस् सर म कोरोनाले मर्दिनँ’ भनिरहन्थ्यो ।

तर, दिनदिनै गल्दै गइरहेको थियो । कुनै पनि लक्षणमा सुधार आइरहेको थिएन । म बिहान–बेलुका खाना पकाएर उसलाई खुवाउँथे । उसले खाएका जुठा भाँडा माझ्थेँ । उसको कोठा सफा गरिदिन्थेँ । उसले खकार थुक्ने डस्टबिन सफा गर्थें । बेलाबेलामा तातोपानी दिन्थेँ । विभिन्न जडिबुटीहरु उमालेर दिन्थेँ । संक्रमण देखिएको एक हप्तासम्ममा पनि उसको अवस्था सुधार भएन । बरु बिग्रिँदै गयो । मान्छे अलि जिद्दी स्वभावको पनि थियो ।

अप्रिलको ११–१२ तारिखदेखि उसले ‘मलाई तातोपानीले सन्चो भएन सर’ भन्दै चिसो पानी पिउन थाल्यो । उसले जिद्दी गरेपछि एक दिन मैले टार्न नसकेर चिसो दही पनि दिएँ । पुरानो र घनिष्ठ साथी भएको भए यस्ता कुरामा गाली गर्ने, हप्काउने गर्थेँ होला । नयाँ भएकाले त्यो पनि गर्न सकिनँ । चिसो पानी र दही खाएपछि उसलाई झन् गाह्रो भयो । सास फुल्न थाल्यो । खाना रुच्न छोड्यो । दिनमा एकपटक बल्लबल्ल खान्थ्यो ।

कोरोनाका बिरामीले सामान्यतया खानेकुराको स्वाद र गन्ध थाहा पाउँदैनन् । तर, उसलाई ठीक उल्टो थियो । उसलाई सामान्य गन्ध पनि कडा लाग्थ्यो । दालमा जिरा पड्काउँदा बेस्सरी खोक्न थाल्थ्यो । मसलाको गन्ध सहनै सक्दैनथ्यो । उसलाई ज्वरो आउने र छोड्ने भइरहन्थ्यो । हामीसँग त थर्म्मिटर पनि थिएन । न बजारमा पाइन्थ्यो । मैले उसलाई छुन पनि नमिल्ने । ज्वरो छ कि छैन भनेर सोध्थेँ । उसलाई बेलाबेलामा एकदम गर्मी र बेलाबेला एकदम जाडो हुन्थ्यो ।

कहिले २ वटा सिरक खपाए सुत्ने, कहिले झ्याल पनि खोलेर ह्वाङ्ग पारेर सुत्ने । रातभर अनवरत खोकिरहन्थ्यो । उसको लगातारको खोकी र छट्पटाहटले गर्दा मलाई पनि राति निद्रा पर्दैनथ्यो । बेला–बेला उठेर तातोपानी दिन्थेँ । मेरो आग्रहमा अप्रिल ९ तारिखमा दिउँसो १२ बजे पवन फेरि हिँडेरै एल्महर्स्ट हस्पिटल गयो । यसपाला अस्पतालले भर्ना लिन्छ कि भन्ने आशा थियो ।

तर, डाक्टरले उभन्दा खराब अवस्थाका धेरै बिरामी भएको भनेर भर्ना लिन मानेनन् । उसलाई ‘रोबोस्टोसिन’ नामको खोकीको औषधि लेखिदिए । अनि चिसोपानी नपिउन भने । औषधिले पनि उसको खोकी रोकिएन । १३ तारिखसम्म आउँदा उसमा अर्को डरलाग्दो लक्षण देखियो । उसको श्रवणशक्तिमा अनायाश ह्रास आयो । एकदमै चिच्याएर बोलाएको मात्रै सुन्थ्यो । त्यसैले म धेरै कुरा ईशारामा गर्थेँ । उसको बोली पनि काँप्न थाल्यो । स्वासप्रश्वास असामान्य हुँदै गयो ।

साथीको अवस्था गम्भिर हुँदै गएपछि मेरो चिन्ता बढ्दो थियो । म पटक–पटक एम्बुलेन्स बोलाउन उसलाई भनिरहन्थेँ । तर, ऊ नमान्ने । उल्टै आफूलाई सुधार भइरहेको दावी गर्थ्यो । ‘म मर्दिन सर’ भनिरहन्थ्यो । मैले हाम्रो अपार्टमेन्टको मुन्तिर बस्ने विजय ज्ञवाली सरसँग कुरा गरेँ । तत्काल एम्बुलेन्स बोलाउने सल्लाह भयो । परबाट बोलाएको नसुन्ने भएकाले मैले उसलाई फोन गरेर चिच्याउँदै भनेँ, ‘तपाईंलाई धेरै गाह्रो भइसक्यो, म एम्बुलेन्स बोलाउँछु ।’

ऊ बल्लतल्ल राजी भयो । म आफैंले फोन डायल गरेर साथीको अवस्था बताएँ । त्यसको केही मिनेटमै एम्बुलेन्समा प्यारामेडिक टिम आइपुग्यो । तर, टिमले उनको राम्रोसँग जाँच गरेन । यसो हेरेर अस्पतालै जानुपर्ने अवस्था नरहेको स्वास्थ्यकर्मीले बताएपछि मैले प्रतिवाद गरेँ । तर केही लागेन । उनीहरुले अस्पताल नलैजाने अड्डी लिए । उनीहरु फर्कँदा मैले ढोकासम्मै पुगेर भनेँ, ‘प्लीज टेक हिम, हि इज नट फाइन ।’ तर मानेनन् ।

उनीहरुले एकदमै निर्दयी व्यवहार गरे । म ‘विभेद’ शब्द त प्रयोग गर्न चाहन्न । तर, फरक वर्ण भएकाले हामीमाथि फरक व्यवहार भएको महसुस मलाई त्यसबेला भयो । हुन सक्छ, पवनको उमेरका कारणले पनि उनीहरुले गम्भिररुपमा नलिएका । ऊ ४३ वर्षको थियो । यो उमेरकालाई जोखिम कम हुने मानिन्छ । एम्बुलेन्स गइसकेपछि म खाना बनाउनतिर लागेँ । पवन बेडमा पल्टियो । मैल भात, दाल, तरकारी र पिरो नहाली चटनी बनाएँ ।

राति करिब ११ बजेतिर उसलाई टेबलमा खाना राखिदिएँ । मैले राखेको २० मिनेटपछि ऊ बल्लतल्ल उठेर खाना खान थाल्यो । आधाजति खायो र बाँकी छोड्यो । मैले थाल उठाएर माझेँ । अनि आफूले खाना खाएर सुतेँ । ऊ पनि सुत्यो । राति करिब साढे १२ बजेतिर पवन उठेर बाथरुम गएको थाहा पाएँ । त्यसपछि कुनै चालचुल सुनिएन । करिब १ बजेतिर म भुसुक्क निदाएँ । ३–४ दिनदेखि म राम्ररी निदाउन सकेको थिइनँ ।

त्यसरात ऊ नखोकेकाले मलाई गहिरो निद्रा र्पयो । एकैपटक भोलिपल्ट बिहान १० बजे ब्यूँझिएँ । आँखा उघार्नासाथ पवनलाई सम्झिएँ । आजचाहिँ उसले खोकेन भनेर अलिक सन्तोष लाग्यो । अनि सुति–सुति चिच्याएर भनेँ, ‘पवनजी, आज त मज्जाले निदाउनुभो है ।’ तर कुनै जवाफ आएन । दुई–तीन पटक कराउँदा पनि कुनै चालचुल सुनिएन । यत्तिकैमा भुइँमा केही तरल पदार्थ उसको कोठाबाट मेरो कोठासम्म बगेर आएको देखेँ ।

मेरो मन चिसो भयो । यसो पर्दा तानेर उसको कोठामा चियाएँ । ऊ बेडमा थिएन । नियालेर हेर्दा भुइँमा घोप्टो परेर लडिरहेको देखेँ । उसको खुट्टामा किचेन सुज थियो । त्यो क्षणको कसरी वर्णन गर्नु । अकल्पनीय नै थियो मेरोलागि । सबै कुरा बिर्सेर म उसको शरीरमा हाम्फाल्न पुगेँ । हातखुट्टा चिसा भइसकेका थिए । छातिमा कुनै चाल थिएन । म कहालिएँ । केही बेरमा सम्हालिएर ९११ मा फोन गरेँ । तल विजय भाइलाई पनि खबर गरेँ ।

एकैछिनमा एम्बुलेन्स आयो । स्वास्थ्यकर्मीले यसो हेरेर भने, ‘हि इज नो मोर’ । उनीहरुले प्रहरीलाई खबर गरे । केहीबेरमा प्रहरी आयो । अर्को मेडिकल टिम पनि आयो । मेरो साथीको शवलाई कोठाबाट निकालियो । प्रहरीले मलाई एउटा नम्बर लेखिएको कार्ड दिए । मलाई केही दिन त्यहाँ नबस्न भने । मृत्युपछिको दाहसंस्कार अमेरिकामा एकदम खर्चिलो छ । फ्यूनरल होमले ४ हजार डलर लिन्छ ।

अहिले कोरोनाबाट मृत्यु हुनेहरुका हकमा १४ दिनसम्म परिवार सम्पर्कमा नआए सरकारले लगेर गाडिदिन्छ । नेपालीहरुको केसमा चाहिँ मेरील्यान्डका विधायक ह्यारी भण्डारीले निकै राम्रो समन्वय गरिरहनु भएको छ । पवनको मृत्यु भएपछि उहाँ आफैंले मलाई फोन गर्नुभएको थियो । शव व्यवस्थापनका लागि उहाँले सबै जिम्मेवारी लिनुभएको छ । पवनको दाहसंस्कार भयो वा हुन बाँकी छ भन्ने चाहिँ मैले अहिलेसम्म जानकारी पाएको छैन । ह्यारीजीले नै यसमा फलोअप गरिरहनु भएको छ ।

पवन अन्तरमुखी स्वभावको थियो । सँगै बसे पनि उसको बारेमा मलाई धेरै जानकारी थिएन । परिवारको विषयमा खासै केही बताउँदैनथ्यो । मैले पनि धेरै सोधखोज गर्न चाहिनँ । काठमाडौंमा घर छ भन्ने मात्र थाहा थियो । परिवारको आर्थिक अवस्था राम्रो नभएकाले उसको छोरीहरुको पढाइका लागि भनेर मैले गो फन्डमार्फत सहयोग आह्वान गरेको छु । अहिलेसम्म अहिलेसम्म झण्डै ७ हजार डलर जुटेको छ । कोरोना संक्रमण भइसकेपछि मैले उसलाई सोधेको थिएँ, नेपालमा फेमिलीलाई भन्नुभयो त ?

उसले भन्यो, ‘होस् नभन्ने । बेकारमा आत्तिन्छन् । ठीक भएपछि भनौला ।’ ऊ सामाजिक सञ्जाल पनि कमै चलाउँथ्यो । आफू बिरामी भएको कुरा उसले सार्वजनिक गरेको थिएन । मृत्यु भएपछि मैले सामाजिक सञ्जालमार्फत उसको परिवारका विषयमा सोधखोज गरेँ । एकैपटक मृत्युको कुरा लेख्दा परिवारले असैह्य पीडा होला भनेर कोरोना संक्रमण भएर अस्पतालमा रहेको कुरा लेखेँ । परिवारका सदस्य मेरो सम्पर्कमा आउनुभयो । पवनको भाइ कतारमा रहेछन् ।

साना दुई छोरीहरु काठमाडौंमा हजुरबा–हजुरआमासँग बस्दा रहेछन् । बुवा अमेरिकामा भए पनि परिवारको अािर्थक अवस्था गतिलो नभएको बुझियो । हात्तिगौंडामा सानो घर छ रे । अमेरिकामा पवनजीको एकजना नजिकको व्यक्ति हुनुहुँदो रहेछ । उहाँलाई पनि कोरोना संक्रमण भएर अहिले न्यूयोर्ककै एउटा अस्पतालमा उपचार गराइरहनु भएको जानकारी आएको छ । उहाँको अवस्था गम्भिर रहेको बुझिएको छ । मैले उहाँलाई सामाजिक सञ्जालमा सम्पर्क गर्ने प्रयास गरे पनि सफल भइनँ । सायद कुरा गर्न सक्ने अवस्थामा पनि हुनुहुन्न कि ?

पवनलाई कोरोना पुष्टि भइसकेपछि म ‘रिस्क जोन’मा थिएँ नै । एक हिसाबले आगोको भुङ्ग्रोमा भन्दा पनि हुन्छ । मलाई संक्रमण हुनु अवश्यम्भावी जस्तै थियो । सँगै बसेको साथीमा संक्रमण देखिएपछि मैले दुरी मेन्टेन गर्न विभिन्न उपाय लगाएँ । उसको खाने टेबल अलग गरेँ । कोठाका सामानहरु छुट्याइदिएँ । तर, सबै कुरा अलग गर्न सम्भव थिएन । हाम्रो बाथरुम र किचेन एउटै थियो ।

त्यसबेला अमेरिकाका अन्य शहरमा रहेका मेरा आफन्त र साथीभाइले मलाई अपार्टमेन्ट छोडेर आफूकहाँ आउन भनिरहनुभएको थियो । अरु धेरै नेपालीहरु यसबेला अन्य स्थानमा आफन्तहरु खोज्दै न्यूयोर्क छाडिरहेका पनि छन् । तर, आफैसँग बसिरहेको एउटा नेपालीलाई यस्तो समस्या पर्दा छोडेर हिँड्न मेरो मनले मानेन । मलाई आफ्नी आमाले दिनुभएको शिक्षाले पनि यस्तो अनुमति दिएन । यो मानवताको मात्रै कुरा थिएन ।

बन्धुत्वको हिसाबले पनि, एउटै देशका नागरिक भएको हिसाबले पनि मैले पवनको साथ छोड्ने सोच्न पनि सकिनँ । सम्पूर्ण जोखिम मोलेर उसँगै बसेँ । उसलाई आफूले सकेको संरक्षण र स्याहार दिएँ । पवनलाई संक्रमण भएको केही दिनदेखि मलाई पनि केही लक्षण देखिन थालेको थियो । ज्यान दुख्ने, घाँटी दुख्ने, पखाला लाग्ने र अलिअलि खोकी पनि लागिरहेको थियो । तर, मैले आत्मबल बलियो बनाएँ । विभिन्न जडिबुटी सेवन गरेँ ।

जडीबुटीको सुप, दूध–बेसार आदि बनाएर उसलाई एक गिलास दिन्थेँ र एक गिलास आफू पिउँथेँ । ममाथि रोग हावी हुन पाएन । साथीको मृत्युपछि अपार्टमेन्ट छाडेर म पाँच दिनसम्म होटलमा बसेँ । यस अवधिमा नेपाली समुदायको सहयोगमा कोठाको सरसफाइ र स्यानिटाइज गरियो । होटलमा बस्दा पनि नेपाली दाजुभाइहरुले खाना ल्याइदिनुहुन्थ्यो । तर, सधैं होटलमा बसेर साध्य पनि छैन । होटलका रुमहरु अत्यधिक महंगा छन् ।

त्यसैले ५ दिनपछि म आफ्नै अपार्टमेन्टमा फर्किएँ । यहाँ पनि नेपालीहरुबाट धेरै सहयोग भएको छ । तीन दिनदेखि चाहिँ आफैंले पकाएर खान थालेको छु । आवश्यक सामग्रीहरु नेपाली दाजुभाइहरुले खरिद गरेर ल्याइदिनु हुन्छ । म बाहिर निस्कनु पर्दैन । गत सोमबार मैले पनि कोरोनाको परीक्षण गराएँ । पोजेटिभ देखियो । यसमा मलाई कुनै आश्चर्य लागेन । न त त्रसित नै बनेँ ।

अहिले पनि मलाई यो रोगसँग लड्न सक्छु भन्ने पूर्ण आत्मविश्वास छ । मेरो परिवार बुटबलमा हुनुहुन्छ । उहाँहरुसँग नियमित कुरा भइरहेको छ । मलाई केही हुँदैन भनेर सम्झाइरहेको छु । भगवानको कृपाले मलाई कडा लक्षण देखिएको छैन । शरीर दुख्ने र छातिमा डम्म भइरहेको छ । धेरैबेर बोल्दा सास हल्का फुल्छ । यतिलाई यहाँ सामान्य नै मानिन्छ । सोसल मिडियामा पनि आफ्नो अवस्थाको जानकारी दिइरहेको छु ।

धेरैले मलाई सहानुभूति र प्रेम दर्शाउनुभएको छ । आफ्नो जीवनको जोखिम मोलेर पनि साथीको स्याहार गरेको भनेर स्याबासी दिनुभएको छ । कहिल्यै नचिनेका, नबोलेका साथीहरुले पनि म्यासेज गर्नुहुन्छ । साथिलाई बचाउन सकेको भए सायद मैले आफ्नो कर्ममा गर्व गर्ने अवसर पाउँथे । तर, पनि आफूले सकेको गरेँ भनेर सन्तुष्टि छ ।

 

#अनलाइनखबर

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १७:४८