सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज भन्सार तीन अर्ब घाटामा

कोरोनाको कहर

बाँके । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालगन्ज भन्सारमा राजश्व सङ्कलन प्रभावित भएको छ । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६/०७७ को चैत महीनासम्म लक्ष्यभन्दा करीब रु पौने तीन अर्ब कम राजश्व सङ्कलन गरेको छ । यो समयमा लक्ष्यभन्दा रु.२ अर्ब ७६ करोड ५८ लाख १२ हजार कम राजश्व सङ्कलन भएको छ ।

कार्यालयले सो अवधिमा रु.११ अर्ब ५३ करोड सात लाख ७९ हजार राजश्ज सङ्कलन गर्नुपर्नेमा रु.आठ अर्ब ७६ करोड ४९ लाख ६७ हजार राजश्व सङ्कलन गरेको हो । यसवर्ष लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न चुनौती रहेका बेला गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले अत्यावश्यक बस्तुबाहेक अन्य सामान नआउँदा राजश्व सङ्कलन दर ह्वात्तै घटेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

भन्सार विभागले चालु आर्थिक वर्षमा नेपालगन्ज भन्सार कार्यालयको लक्ष्यमा वृद्धि गरेपछि लक्ष्यानुसार राजश्व सङ्कलन गर्न समस्या परिरहेको समयमा कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दीमा गएपछि त्यसको प्रभाव झनै परेको छ । बन्दाबन्दीमा पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तु मात्र आयात भएका कारण राजश्व सङ्कलन पनि घटेको छ । बन्दाबन्दी अझै लम्बिँदै गए राजश्व सङ्कलनमा ठूलो असर पर्ने कार्यालय प्रमुख निरौलाको भनाइ छ ।

उनका अनुसार गत आवमा रु.१२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा चालु आवमा लक्ष्यदरमा वृद्धि भएर रु.१५ अर्ब ४३ करोड ७५ लाख १४ हजार रहेको छ । नेपालगन्ज नाकाबाट अत्यावश्यकीय खाद्यवस्तु चामल, मकै, दाल, आलु, गोलभेडा लगायत तरकारीको आयात नियमित छ । नेपालगन्ज नाकाबाट भित्रिने खाद्यवस्तु प्रदेश ५ का बाँके, बर्दिया र कर्णाली प्रदेशका सबै जिल्लामा जाने गरेको छ ।

बन्दाबन्दी शुरु भएपछि गत चैत ११ देखि २९ सम्म १९ दिनमा रु.४२ करोड नौ लाख ६८ हजार ९१९ को खाद्यान्न, तरकारी र फलफूल आयात भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिए । सो अवधिमा रु.२७ करोड दुई लाख १६ हजार ४३१ मूल्य बराबरको ४६ लाख १३ हजार २५ किलो चामल आयात भएको छ । त्यस्तै रु.२९ करोड २८ लाख ६ हजार ४६० मूल्यको ८९ लाख तीन हजार ६६५ किलो मकै र रु.एक करोड ४५ लाख ६९ हजार ६३ को दाल नेपालगन्ज नाका भएर भित्रिएको छ ।

अधिकृत निरौलाका अनुसार बन्दाबन्दी शुरु भएदेखि रु.दुई करोड ७१ लाख नौ हजार ८१८ को १० लाख ७० हजार ४०६ किलो आलु र रु.८५ लाख ९४ हजार ९३९ बराबरको ४९ लाख आठ हजार ८२५ किलो गोलभेंडा आयात भएको छ । सो अवधिमा रु.चार करोड ३८ लाख २० हजार ५३३ मूल्यको नौ लाख १६ हजार केजीे चिनी आयात भएको छ । यसैगरी रु.दुई करोड ३७ लाख ९४ हजार ७३४ मूल्यको फलफूल र रु.३५ लाख ७६ हजार ९४६ मूल्यका विभिन्न थरिका तरकारी पनि आयात भएको नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार १३:२९