सूचनाको शक्ति - The Power Of Information

        

सिम्तामा ‘एक व्यक्ति एक मास्क, एक घर एक साबुन’

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ वडा कार्यालय आग्रीगाउँका प्रत्येक घरका सदस्यलाई पुग्ने गरी ‘एक व्यक्ति एक मास्क, एक घर एक साबुन’ वितरण गरिएको छ । मास्कको अभाव भएका बेला स्थानीयस्तरमै तयार गरेको मास्क वितरण गरेको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए ।

वडा नं ३ मा गठन गरिएका नौ वटा युनिट एक्सन टिमले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घरको परिवार संख्या, भारत र अन्य देश गएको संख्या, घर बाहिर तथा नेपालभित्र कुनै ठाउँमा गएको संख्या र दिर्गरोगीको अवस्थाको विवरण संकलन गरेका थिए । मास्क र साबुन टोलका युनिट एक्सन टिमले घरघरमा गएर एक्सन टिमले वितरण गर्ने वडाध्यक्ष नहकुल बुढाले जानकारी दिए ।

३ नं वडा कोरोना रोकथामको लागि सबै राजनीतिक दल, समाजसेवी र संघसंस्था सक्रियता देखिएको छ । केही दिनभत्र विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्ने वडासदस्य लोकबहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले विपन्न घरधुरी पहिचान गरिसकेको वडासचिव तेजबिक्रम सिहले बताए ।

टोलस्तरको युनिट एक्सन टिमले मुठी, माना, पाथी र मुरी अभियान सञ्चालन गरि आपतकालिन अन्न भण्डार गर्ने निर्णयसमेत भएको छ । यस्तै वडा नं ४ बजेडीचौरले पनि विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्न शुरू गरेको छ भने वडा नं ६ राकमले पनि सबै नागरिकलाई मास्क र विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गर्ने सुरु गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार ११:५०