सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालले ‘मृत’ घोषित गरिएकी वृद्धा बिउँझिएपछि…

एजेन्सी । ल्याटिन अमेरिकी देश इक्वेडरमा कोरोना भाइरसको संक्रमणका कारण निधन भएको भनिएकी ७४ वर्षकी महिला जीवित रहेको खुलेको छ । अस्पतालले मृत घोषित गरेकी वृद्धा जीवितै रहेको थाहा भएको हो । पहिचानमा गल्ती हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरिएको अस्पतालले जनाएको छ ।

अल्बा मारुरीको परिवारलाई गएको महिना अस्पतालले उनको निधन भएको जानकारी दिएको थियो । त्यसपछि अस्पतालले परिवारका सदस्यलाई अल्बाको अस्तु (खरानी) पठायो । तर अल्बा तीन हप्ताको कोमाबाट बिहीबार बिउँझिइन्, आफ्नी बहिनीलाई टेलिफोन गरिदिन डाक्टरसँग आग्रह गरिन् ।

उनको परिवारले मृत्यु भइरकेको भनेकी अल्बा जीवितै रहेको थाहा पायो, उनीहरु अति हर्षविभोर भए । तर घरमा आएको अस्तु कसको हो भन्ने उनीहरुलाई थाहा छैन । अस्पतालले आफूबाट भएको गम्भीर गल्तीका लागि माफी मागेको छ । इक्वेडरमा कोरोना भाइरस महामारीको इपिसेन्टर ग्वायक्वील शहरकी बासिन्दा अल्बा ‘मृत्यु’ बाट फर्किएकी हुन् ।

इक्वेडरमा कोरोना भाइरसका कारण अहिलेसम्म २२ हजार ७१९ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५७६ रहेको छ । स्थानीय पत्रिका एल कोमेरसिओका अनुसार अल्बालाई गएको महिना उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको स्वासप्रस्वासमा पनि समस्या भएको थियो । मार्च २७ मा अस्पतालले परिवारका सदस्यलाई उनको मृत्यु भएको जानकारी दियो ।

उनको शव भनेर देखाइयो, तर संक्रमणको डरले नजिक जान दिइएन । शव लगियो र अन्तिम परिवारको उपस्थिति बिना अन्तिम संस्कार भयो र अस्पतालले अस्तु पठाइदियो । तर बिहीबार अल्बा होसमा आइन् । डाक्टरलाई घरको फोन नम्बर दिइन् । फोन उनकी बहिनी औराले उठाइन् । त्यसपछि सबै परिवर्तन भयो । अस्पतालको एक समूह अल्बाको घरमा माफी माग्नका लागि गयो । कोरोना भाइरसका केसहरु धेरै आएकाले हडबडीमा गल्ती भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार ०९:४२