सूचनाको शक्ति - The Power Of Information

        

साढे तीन महिनामा कोरोना भाइरसबाट दुई लाख बढीको ज्यान गयो

फाइल तस्वीर

बाँके । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५ पुगेको छ ।

विश्वभर २८ लाख ९२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा माथि छ । अहिलेसम्म अमेरिकामा कम्तिमा ५३ हजार ५११ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै ९ लाख ३६ हजारभन्दा माथि पुगेको छ ।

वुहानमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । गएको डिसेम्बर तेस्रो हप्ता चीनको वुहान शहरबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण जनवरीको दोस्रो हप्ता पहिलो व्यक्तिको निधन भएको थियो । चीनको सरकारी सञ्चारमाध्यमले कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु जनवरी ११ मा भएको पुष्टि गरेको थियो ।

त्यसयता विश्वका २१० देश तथा प्रशासित क्षेत्रमा संक्रमण फैलिएको छ । विश्वका पाँच देशमा २० हजारभन्दा बढी मानिसको कोभिड–१९ बाट मृत्यु भएको छ । बढी प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको इटालीमा अहिलेसम्म २६ हजार ३८४ जनाको निधन भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ९५ हजारभन्दा बढी छ ।

स्पेनमा ज्यान गुमाउनेको संख्या २२ हजार ९०२ तथा संक्रमित दुई लाख २३ हजारभन्दा बढी छन् । फ्रान्समा २२ हजार ६४८ को ज्यान गएको छ भने एक लाख ६१ हजारभन्दा बढी संक्रमित छ । यसैगरी बेलायतमा २० हजार ३८१ को निधन भएको छ र संक्रमितको संख्या एक लाख ४९ हजारभन्दा बढी पुगेको छ ।

विश्वका अधिकांश देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन तथा सामाजिक दूरीसहितका उपायहरु लागु गरिएका छन् । स्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरु यसको खोप बनाउने प्रयासमा जुटेका छन् । कम्तिमा तीनवटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खोपको निर्माण तथा त्यसको वितरण व्यवस्थित गर्नका लागि योजनाहरु बनाइरहेको बताएको छ । तर यहि बीचमा डब्लुएचओले एकपटक कोरोना भाइरसको संक्रमण निको भएका व्यक्तिमा बनेको एन्टिबडीका कारण पुनः संक्रमणको जोखिम नरहने कुरा प्रमाणित नभएको बताएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतवार ०८:०६