बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ का कुखुरापालक किसान पलबहादुर केसीले सञ्चालन गरेको कुखुरा फर्ममा फर्ममा अहिले एक हजार ८०० कुखुरा थिए । बन्दाबन्दीका कारण ५०० कुखुरा मरिसके । खाना अभाव र खपत नभएपछि दिनप्रतिदिन कुखुरा मरिरहेका छन् ।
दैनिकजसो कुखुरा मर्न थालेपछि केसी निकै तनावमा हुन् । केही वर्षदेखि कुखुरापालन गरेर जिविकोपार्जन गर्दै आइरहेका केसीलाई फर्ममा भएका कुखुरा कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । एक महिनादेखिको बन्दाबन्दीका कारण दाना आयात नहुँदा फर्ममा कुखुराहरु छटपटाइरहेका छन् ।
कोरोनाको डरले फ्रेस हाउस सञ्चालकले कुखुरा लिनै मान्दैनन् । ‘आम्दानीको त कुरै नगरौं करिब रु.पाँच लाख जति घाटा भइसक्यो,’ भावुक हुँदै उनले भने । सोही ठाउँकै झम्पा गौतमले पनि गत वर्षको माघ महिनामा १ हजार २०० चल्ला खरिद गरेका थिए । निकै दुख गरेर हुर्काएका कुखुरा बेच्ने बेला बन्दाबन्दीले रोकिदियो ।
कुखुरा बेच्न नपाएपछि यतिबेला उनी पीडामा हुनुहुन्छ । ‘बन्दाबन्दीका कारण कुुखरा बाहिर पठाउन नसक्दा उनका पनि ३०० वटा कुखुरा मरे । कुखुरा मरेपछि करिब रु.एक लाख ८० हजार घाटा भएको छ । अझै बन्दाबन्दी लम्बियो भने हाम्रो बिजोग नै हुन्छ । प्रतिकेजी रु.१७० रुपैयाँमा बिक्री गर्दासमेत कुखुरा किन्न ग्राहक नै आउँदैनन्,’ गौतमले भने ।
कुखुरापालक किसानहरुलाई प्रतिकिलो रु.१७० मा बेच्नै मुस्किल भइरहेको छ । ‘कुखुरा बिक्री गर्न सक्ने अवस्था छैन, लगानी बालुवामा पानी हालेजस्तै भएको छ,’ गौतमले भने । उनका अनुसार केही आम्दानी होला, घर खर्च चलाउँला भन्दै गरिएको लगानीमा बालुवामा पानीजस्तै भएको छ ।
अर्का कुखुरापालक किसान शेरबहादुर खड्काको पनि अवस्था केसी र गौतमको भन्दा फरक छैन । उनले कुखुरा व्यवसाय थालेको १३ वर्ष भयो । बन्दाबन्दीकै कारण पहिलो पटक निकै घाटा व्यहोर्नुपरेको उनले बताए । गत फागुन महिनामा ५१० वटा कुखुरा किनेका उनले बन्दाबन्दीको अवधिमा गर्मी र दाना अभावका कारण २४० कुखुरा मरेको बताए ।
उनले पनि यो अवधिमा मात्रै रु.एक लाख १० हजारको घाटा व्यहोरेको दुखेसो पोखे । यी त प्रतिनिधि पात्र मात्र हुन् । बन्दाबन्दीका कारण बाँकेका कुखुरापालक किसानहरु निकै मर्कामा परेका छन् । बाँकेमा कुखुराको दाना तथा बजार व्यवस्थापन गरिरहेको न्यू भेरी पोल्ट्री सप्लायर्सले कुखुरा बाहिरी जिल्लामा पठाउन नसक्दा समस्या भएको जनाएको छ ।
सप्लायर्सका प्रमुख प्रदिप कँडेलका अनुसार अहिले साना कुखुरा व्यवसायीहरुले प्रतिकेजी रु.१५० मा बिक्री गर्न खोज्दासमेत किन्ने मान्छे भेट्टाउन मुस्किल छ । उनले बन्दाबन्दी अघि बजारमा दैनिक २० देखि २५ क्वीन्टलसम्म मासु खपत हुने गरेकोमा अहिले मुस्किलले एक क्वीन्टल खपत हुने गरेको जानकारी दिए ।
‘अहिले किसानहरु निकै मर्कामा छन् । किसानले कुखुराका चल्ला पनि किन्न छोड्ेका छन् । यसले पछि कुखुराको मासु पाउनै मुस्किल छ । बन्दाबन्दी अझै बढेमा कुखुराको मासुको अभाव हुने निश्चित छ,’ कँडेलले भने । बन्दाबन्दीका कारण बाँकेमा झण्डै ४० प्रतिशत आम्दानीमा गिरावट आएको किसानहरु बताउँछन् ।
बन्दाबन्दीको समय थपिए जिल्लामा कुखुरा व्यवसाय उठ्नै नसक्ने गरी थला पर्ने कुखुरापालक किसान गनापुरका जयबहादुर बुढाले शर्माले बताए । उनले कुखुरा व्यवसायीका लागि सरकारले राहत प्याकेज दिएर भए पनि बचाउनुपर्ने बताए । ‘अब किसानहरु कुखुरा पाल्न सक्ने अवस्था नैछ, बन्दाबन्दी थपियो भने हाम्रो रोजीरोटी गुम्छ,’ बुढाले भने ।
बुढाले कुखुरा पाल्नै गाह्रो भएपछि जिल्लामा रहेका सप्लार्यस तथा किसानहरुलाई सस्तो उक्त मूल्यमै भए पनि खरिद बिक्री गरिदिन आग्रह गरे । कुखुरापालक किसानहरुले बन्दाबन्दीका कारण कुखुरा पाल्न नसकिने भन्दै कुखुरा व्यवसायीहरुका लागि राहतको प्याकेज उपलब्ध गराउन तथा बैंकको ब्याज मिनाहा गर्नसमेत आग्रह गरेका छन् ।
सत्यपाटी ।