सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कोषमा दुई अर्ब १३ करोड

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।

सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ । प्राप्त विवरणअनुसार अम्बे स्टिलले रु २५ लाख, सगरमाथा इन्स्योेन्स कम्पनीले रु १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले रु पाँच लाख कोषमा जम्मा गरेका छन् । यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११ र क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले रु एक लाख ६८ हजार ४५३ रकम कोषमा जम्मा गरेका छन् ।

त्यसैगरी डिभिजन वन कार्यालय सल्यानले रु एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले रु एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले रु एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन् । नाम नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको रु ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १७:४८