सूचनाको शक्ति - The Power Of Information

        

डोरी र सिलौटा बेच्न नपाउँदा चिन्तामा कुचबधिया

बाँके । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित कुचबधिया बस्तीमा खाद्यवस्तुको अभाव भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि जारी बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जनमा कठिनाइ भएको बस्तीका अगुवा राजु कुचबधियाले बताए । गाउँपालिकाले वडाका अन्य बस्तीमा अत्यावश्यक खाद्यवस्तु राहत वितरण गरे पनि कुचबधिया बस्तीमा वितरण नभएको उनको गुनासो छ ।

‘सिलौटा खोप्ने, डोरी बाट्ने र बजारमा बेचेर घरखर्च चलाउने पैसा आउँथ्यो, लकडाउनले एक महीना भयो सबै बन्द छ,’ उनले भने, ‘चार महीना भयो भत्ता पनि आएको छैन, साँझ बिहान खाना खानेकै समस्या भइरहेको छ ।’ ६३ घरधुरी रहेको कुचबधिया बस्तीमा सहकर्मी समाजले हप्ता दिनअघि ४७ घरपरिवारलाई प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल र एकएक किलो नून र तेल वितरण गरे पनि सकिएपछि अब के खाने भन्ने समस्या भएको उनले बताए ।

तीमध्ये २४ घरधुरीले अहिलेसम्म कुनै किसिमको राहत पाउन सकेका छैनन् । ‘पहिला दाल चामल बाँड्दा हाम्रो नाम राखिएको थिएन, अहिले वडाबाट पनि पाइएको छैन, लकडाउनले घरपरिवार चलाउनै गाह्रो भएको छ,’ बस्तीका बलेराज कुचबधियाले भने, ‘सबैलाई बाँड्दा हामीलाई पनि दालचामल बाँड्नुपर्ने हो तर गरीबलाई विभेद गरिएको छ ।’ वडा कार्यालयले तीन दिनदेखि स्थानीय रम्बापुर गाउँबाट विपन्न समुदायलाई राहत वितरण गरिरहेको छ ।

दुई दिनसम्म वडा कार्यालय र राहत वितरण गर्ने स्थानमा पुगे पनि आफूहरुले राहत पाउन नसकेको राना कुचबधियाको गुनासो छ । जानकी–३ ले राहत वितरणका लागि कुचबधिया बस्तीसहित ८६१ जनाको तथ्याङ्क गाउँपालिका कार्यालयमा पेश गरेको छ । बस्तीमा सहकर्मी समाज संस्थाले बाँडेका कारण वडा कार्यालयबाट राहत वितरण नगरिएको वडाध्यक्ष बिन्देश्वरी वर्मा बताउँछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बस्तीमा राहत वितरण दोहोरो नहोस् भन्नका लागि वडाबाट तत्काल वितरण नभएको हुन सक्ने बताए । उनले राहत नपाएकालाई केही दिनमै वडा कार्यालयबाट वितरणको व्यवस्था गरिने जानकारी दिए । इन्द्रपुरगाउँमा रहेको ऐलानी जग्गामा बसेका दुई बस्तीमा कुचबधियाको बसोबास छ । उनीहरूलाई सबैभन्दा ठूलो पिरलो बन्दाबन्दी लम्बिदै जाँदा भोकै परिने हो कि भन्ने छ ।

आफ्नै जग्गा नभएका कारण कुचबधियासँग डोरी र सिलौटा बिक्रीजस्ता परम्परागत कामबाहेक आयआर्जनका अरू उपाय छैनन् । ‘लकडाउनले डोरी सिलौटा बनाउन र बिक्री गर्न पाइएको छैन, बनाएर राख्न पनि इण्डियाबाट सनपट र पत्थर ल्याउन नाका बन्द छ,’ बस्तीका अगुवा पटवारी कुचबधियाले भने । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेका इन्द्रपुर, गनापुर र फुल्टेक्रामा कुचबधियाको ३३७ जनसङ्ख्या छ । त्यहाँ अधिकांश झुपडी छन् । केहीले ऋणधन गरेर अर्धपक्की र पक्की घर पनि बनाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १३:४२