सूचनाको शक्ति - The Power Of Information

        

अर्को वर्षको सुरूसम्म कोरोना भ्याक्सिन ल्याइसक्ने चीनको दावी

चीन । एक चिनियाँ स्वास्थ्य विज्ञले चीनले आगामी वर्षको सुरुवातसम्म आम प्रयोगका लागि कोरोना भाइरस कोभिड–१९ को भ्याक्सिन ल्याइसक्ने दावी गरेका छन् । आकस्मिक प्रयोगका लागि सेप्टेम्बरमा आउने अनुमान गरिएको सो भ्याक्सिन आममानिसको प्रयोगका लागि आगामी वर्षको सुरुवातमा उपलब्ध हुने अनुमान छ ।

कुनै पनि चिनियाँ अधिकारीले कोरोना भाइरसको उपलब्धताका बारेमा समयसीमा तोकेको यो पहिलो पटक हो । खोपको विकास महामारीसँग जुधिरहेको विश्वका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ । अमेरिकी खाद्य तथा औषधी व्यवस्थापनले भ्याक्सिन निर्माणबाट अमेरिका कम्तीमा एक वर्ष टाढा रहेको विश्वास गर्दै आएको छ ।

यसैगरी विश्व स्वास्थ्य संगठनले पनि यसका लागि १२ देखि १८ महिना लाग्ने बताइसकेको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख गाओ फुले बिहिबार चाइना ग्लोबल टेलिभिजन नेटवर्कमा हाल खोपको दुई वा तीनवटा क्लिनिकल परीक्षण भएको र त्यो संक्रमण सम्भावित दोश्रो लहरको बेलासम्म उपलब्ध हुनसक्ने बताएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारका अनुसार तीन चिनियाँ खोपले आफ्नो परीक्षणको पहिलो चरण पार गरिसकेका छन् । ‘हामी भ्याक्सिन विकासको अग्रमोर्चामा छौं र आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म उपलब्ध भइसक्छ होला,’ गाओले भने, ‘हाल परीक्षणका क्रममा रहेका यी नवनिर्मित भ्याक्सिन स्वास्थ्यकर्मीहरू जस्ता केही विशेष समूहका मानिसहरूलाई प्रयोग गर्न मिल्ने ठानिएको छ ।’

गाओले आगामी वर्षसम्म स्वस्थ्य मानिसहरूका लागि खोप उपलब्ध भइसक्ने जनाए । ‘अर्को वर्षको सुरुसम्ममा स्वस्थ्य मानिसहरूका लागि खोप उपलब्ध भइसक्छ होला,’ उनले भने । उनले यसको सम्भावना भ्याक्सिन विकासको प्रगतिमा निर्भर गर्ने जोड दिएका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाले हाल थुप्रै मानिसहरूलाई घरभित्र सिमित गरिदिएको छ ।

निश्चित उपचार प्रक्रिया र खोप उपलब्ध नभएकाले मानिसहरूमा यस रोगलाई लिएर ठूलो त्रास छ । यस्तोमा उच्च तहका चिनियाँ अधिकारीले दिएको यो जानकारी राहत दिने खालको छ । संसारमा हालसम्म २८ लाख बढी मानिस यसबाट संक्रमित भइसकेका छन् भने मृतक संख्या २ लाखको नजिक पुगेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार १२:३५