सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा काम गर्ने दुई जना भारतीय नागरिकमा कोरोना पोजेटिभ

बर्दिया । नेपालबाट भारत गएका दुई भारतीय नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । बर्दियाको कर्णाली (गेरुवा) नदीस्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने भारत उत्तरप्रदेशको बहराइच जिल्ला, नानपाराका निवासी दुई भारतीय मजदुरमा कोरोना पोजेटिभ देखिएको हो ।

घर फर्किएका उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको भारतीय प्रहरी अधिकारीले बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई पत्र पठाएर जानकारी दिएका छन् । पत्रमा उल्लेख गरिए अनुसार बैशाख ५ गते (अप्रिल १७) मा उनीहरु भारत स्थित आफ्नो घर पुगेका थिए ।

कोठियाघाट क्षेत्रमा कामगर्ने मजदुरहरुमा कोरोना पोजेटिभ भेटिएकाले उनीहरुको सम्पर्कमा रहेकाहरुको बारेमा जानकारी लिन आवश्यक कदम चलाउन भारतीय अधिकारीबाट नेपाललाई अनुरोध गरिएको छ । बर्दियाको कर्णाली (गेरुवा) नदीस्थित कोठियाघाटमा सञ्चालित क्रसरमा उनीहरु काम गर्दै आएका थिए ।

लकडाउनका समयमा केही दिनअघि दुई भारतीय नागरिक भारतस्थित आफ्नो घर पुगेका थिए । परीक्षणका क्रममा बैशाख ८ गते पोजेटिभ भेटिएपछि भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सोही दिन पत्राचार गरी जानकारी गराएको प्रजिअ लामिछानेले बताए । प्रजिअ लामिछानेका अनुसार नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजेटिभ भेटिएपछि बर्दियास्थित कोठियाघाट क्षेत्रलाई सिल गरिएको छ ।

‘क्रसर धेरै अघिदेखि नै बन्द अवस्थामा छ,’ उनले भने ‘कामदारहरुलाई नेपालमै वा भारत जाने क्रममा संक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’ संक्रमण देखिएका भारतीय कामदारसँगै काम गर्ने नेपाली मजदुरको पहिचान गरी स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको उनले बताए । बर्दियामा भाइरस ट्रान्सफर मिडियम (भीटीएम) नहुँदा अन्य कामदारको स्वाब संकलनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ११:४०