जुम्ला । जुम्लामा कोरोना भाइसर (कोभिड १९) को विशेष बीमा कार्यक्रम सुरु भएको छ । शिखर बीमा इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोराना रोग विशेष बीमा कार्यक्रम सुरु गरेको हो । कम्पनीका कर्णाली प्रदेश प्रबन्धक ऋषिराम पाण्डेका अनुसार मुलुकमा कोरोना रोग फैलिन थालेपछि यसबाट नै नागरिकलाई केही राहत होस् भनेर कम्पनीले नयाँ कार्यक्रम ल्याएको हो ।
बीमा अवधिभित्र कोभिड–१९ भाइरसबाट कोरोना रोग लागेर पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएपछि व्यक्तिले बीमा गर्न पाउने व्यवस्था रहेको प्रबन्धक पाण्डेले जानकारी दिए । कोरोना भाइरसबाट संक्रमित भएका नेपाल सरकारले निर्धारण गरे अनुसार पिसिआर परीक्षण गरी सम्वन्धित चिकित्सकबाट परीक्षणको नजिता पोजेटिभ भई कोरोना रोग पुष्टि भएमा बीमा भुक्तानी योग्य हुने व्यवस्था रहेको छ ।
कुनै पनि व्यक्तिले आफ्नो वा आफ्ना घरपरिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यहरुको बीमा गर्नुपर्ने छ । पाण्डेका अनुसार बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ बर्ष हुनुपर्ने प्रावधान रहेको छ । यसमा कुनै संघ संस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सकिने व्यवस्था गरिएको छ । एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि ६०० रुपैयाँ लाग्नेछ ।
५० हजारको बीमा गरेमा ५०० रुपैयाँ बीमाङ्क शुल्क लाग्ने छ भने अरु सदस्य (घरपरिवार) थपिएपछि प्रतिव्यक्ति ३०० रुपैयाँ थप रकम रकम लाग्ने व्यवस्था रहेको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । त्यसैगरी संस्थागत रुपमा समुहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एक जना कर्मचारीको एक हजार बीमा शुल्क तिर्नुपर्नेछ भने अन्य कर्मचारी थपिदै गएपछि प्रतिकर्मचारी ६०० रुपैयाँ बीमा शुल्क लाग्ने प्रावधान रहेको छ ।
५० हजारको बीमा गरेमा एक कर्मचारी पाँच रुपैया र कर्मचारी थप भएपछि प्रति व्यक्ति तीन सय रुपैयाका दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा संघ संस्थाले ६ जना भन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ । कोरोना रोग बीमा गर्ने व्यक्ति तथा संघ संस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फारम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ ।
भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउन व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाको लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको प्रबन्धक पाण्डेले बताए ।
विजय रावत ।