सूचनाको शक्ति - The Power Of Information

        

दशगजा क्वारेन्टाइनका १८१ जना घर फर्किए

बाँके । बाँकेको जमुनाहस्थित दशगजा नजिक अस्थायी क्वारेन्टाइनमा रहेका १८१ जनालाई आज घर पठाइएको छ । नेपाल–भारत नाका बन्द भएपछि भारतका विभिन्न स्थानबाट नेपाल आइपुगेका उनीहरुलाई कोरोना संक्रमणको जोखिमका कारण नेपालगन्ज उपमहानगरपालिका–१५ पिप्रहवाको जमुनाहस्थित दशगजा नजिक अस्थायी क्वारेन्टाइनमा राखिएको थियो ।

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले गृह मन्त्रालयसँगको समन्वयमा उनीहरुलाई घर पठाइएको बताए । गत चैत्र १८ गते नेपालगन्ज नाका आइपुगेका उनीहरुलाई स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा १९ गते दशगजामा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।

२३ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरुलाई सात वटा गाडीमार्फत गन्तब्यतर्फ पठाइएको प्रजिअ खड्काले बताए । १५ औं दिनमा उनीहरुको आरडीटि टेष्ट गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकाले घर पठाउन तयारी थाले पनि गृह मन्त्रालयको आदेशमा उनीहरुलाई क्वारेन्टाइनमै रोकिएको थियो ।

देशका विभिन्न जिल्लाका १८१ जनालाई जिल्लागत रुपमा पायक पर्ने गरि सोही अनुसार गाडी व्यवस्था गरेर पठाइएको प्रजिअ खड्काले बताए । उनका अनुसार बाँकेका २५ जना र बर्दियाका दुई जनाका लागि एउटा गाडी, दाङदेखि पूर्व झापासम्मका ५७ जनाका लागि एउटा गाडी र बर्दियाका थप १२ जनालाई एउटा गाडीमा व्यस्था गरिएको छ ।

त्यसैगरी जुम्ला, मुगु र अछामका २३ जनाका लागि एउटा गाडी, सल्यान, रुकुम र जाजरकोटका १४ जनाका लागि एउटा गाडी, रोल्पा र प्यूठानका १९ जनाका लागि एउटा गाडी तथा दैलेख र सुर्खेतका २८ जनाका लागि एउटा गाडी व्यवस्था गरिएको प्रजिअ खड्काले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १७:४८