काठमाडौं । कोरोना भाइरस नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्छ र श्वासनली वा फोक्सोभित्र गएर बस्न थाल्छ । भाइरसले बिस्तारै बिस्तारै कोशिकाहरूलाई हाइज्याक गर्न थाल्छ र कोशिकालाई मारिदिन्छ । त्यसपछि भाइरसले एक मानिसबाट अर्कोमा फैलिने क्षमता पनि विकसित गर्छ ।
भाइरसले थुप्रै कोशिकाहरूलाई सिध्याएपछि त्यसविरुद्ध लड्न शरीरको इम्युन सिस्टम सक्रिय हुन्छ । अनि अलिक पोलेको जस्तो लाग्न थाल्छ । फोक्सोभित्रका नलीहरूमा तरल पदार्थ जम्न थाल्छ र त्यसैले सुक्खा खोकी र सास फेर्न समस्या गराउँछ । गम्भीर संक्रमण भएमा फोक्सो पोल्न थाल्छ र साइटोकाइन स्टोर्मको स्थिति बन्छ ।
सार्स तथा मर्स महामारीमा पनि यही लक्षण देखिएको थियो । फोक्सोका नलीहरू यस भाइरसका कारण ध्वस्त भएपछि रोगीलाई भेन्टिलेटर आवश्यक पर्छ । गम्भीर स्थिति हुँदा शरीरका अंगहरू विफल हुन थाल्छन् र रोगीको मृत्यु हुन्छ । सामान्य संक्रमण भएको रोगीलाई पूरै ठीक हुन लगभग डेढ महिना लाग्छ । त्यसो त कोरोनाको १५ देखि २० प्रतिशत केसमात्र गम्भीर हुन्छ ।
सामान्य संक्रमण भएका मानिसलाई खोकी, ज्वरो, छाती दुख्ने र मांसपेशीमा पीडा जस्ता लक्षण देखिन्छन् । यस्ता रोगी दुई हप्तामा ठीक हुन्छन् । उनीहरू सेल्फ आइसोलेसनमा बसेरै ठीक हुन्छन् । केही रोगीमा चाहिँ कोरोनाको लक्षणै देखिँदैन तर उनीहरूले अरूलाई रोग सार्छन् । गम्भीर संक्रमण भएका रोगीको फोक्सोमा अत्यधिक तरल भरिएपछि सास फेर्नै मुश्किल पर्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
वृद्धवृद्धा, दीर्घरोगी वा मुटुरोगीलाई कोरोना लागेपछि ठीक हुन निकै मुश्किल पर्छ । यस्तो अवस्थाका ३० देखि ४० प्रतिशत रोगीको मृत्यु हुन्छ । गम्भीर रोगीलाई भेन्टिलेटरबाट हटाउनुअघि उसले केही कुरा निल्न सक्छ कि सक्दैन भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । उसलाई सामान्य अक्सिजन भए पुग्ने र कार्बनडाइअक्साइडलाई फाल्न सक्ने उसको स्थिति बन्यो भने भेन्टिलेटरबाट निकालिन्छ ।
कुनै पनि रोगीको रिपोर्ट लगातार दुईचोटि नेगेटिभ आयो भने बल्ल डिस्चार्ज गरिन्छ । तर विभिन्न देशका यसका फरक फरक नियम छन् । चीनमा कुनै रोगीलाई चार दिनसम्म ज्वरो आएन र फोक्सो पोल्ने भएन भने ठीक भएको मानिन्छ । अमेरिकामा चाहिँ सामान्य लक्षणहरूमा पनि कम्तीमा एक हप्ता निगरानी गरिन्छ । ठीक भएपछि पनि रोगीले दुई हप्ता सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । एजेन्सीहरुको सहयोगमा
सत्यपाटी ।