सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा सुरु भयो कोरोना भाइरविरुद्धको खोपको मानवीय परीक्षण

कोरोना भाइरसविरुद्धको सम्भावित खोपको मानवीय परीक्षण युरोपमा पहिलोपटक सुरु भएको छ । सम्भावित खोपको परीक्षण अक्सफोर्डमा सुरु भएको जनाइएको छ । खोपको परीक्षणका लागि स्वतन्त्ररुपमा तयार भएका दुई जनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

खोपको परीक्षणका लागि ८०० भन्दा बढी मानिसले आफ्नो नाम लेखाएका छन् । त्यसमध्ये आधालाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ र बाँकी आधालाई मेनेनजाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ । तर खोप लगाउने प्राप्त गर्ने व्यक्तिलाई भने आफूलाई कुन खोप दिइएको छ भन्ने थाहा हुने छैन, डाक्टरहरुलाई मात्रै यसबारे जानकारी हुनेछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि एक वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्ने उद्देश्यले खोप लगाउने निर्णय गरेको बताएकी छन् । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिनाभित्रै निर्माण गरेको खोप मानवीय परीक्षणमा गएको हो ।

उनले भनेकी छन्, ‘व्यक्तिगत रुपमा मलाई यो खोपमा अधिक आशा छ । तर हामीले परीक्षण गर्नुपर्छ र मानवबाट तथ्यांक पनि लिनुपर्छ । खोपले वास्तवमै काम गर्न भनेर देखाउनुपर्छ ।’ यसअघि उनले खोपले काम गर्छ भन्नेमा आफू ८० प्रतिशत ढुक्क रहेको बताएकी थिइन् । तर उनले योपटक आँकडामा विश्वास व्यक्त गरेकी छैनन् । उनले आफू अति आशावादी रहेको उल्लेख गरेकी छन् ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप बनाएको थियो । यसअघि नै अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास भएका छन् र कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार ०८:०३